Logo

सर्लाहीको ईश्वरपुरमा स्थानीय र प्रहरी बिच दोहोरो भिडन्त, भोली सात बजेसम्मका लागि लगाइयो निषेधाज्ञा



सर्लाही, १३ पुस । सर्लाहीको ईश्वरपुर नगरपालिका बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक युवकको ज्यान गएपछि स्थानीय प्रदर्शनमा उत्रीदाँ प्रहरी र स्थानीयहरू बिच दोहरो भिडन्त भएको छ ।

गत आइतवार राती ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–५ निवासी ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।

महतोको मृत्यु पछि आक्रोशित भएका आफन्त र स्थानियहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा स्थानिय र प्रहरी बिच भिडन्त भएको थियो । भिडन्तमा परि दर्जनौं प्रहरी र स्थानीयहरू घाईते भएको बताइएको छ ।

मृतक महतोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामै राखिएको छ । मृतकका आफन्त र स्थानीय अगुवाहरु सोमबार वार्ता स्थल छाडेर हिँडेकाले आज पुनः वार्ताका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

त्यहाँको अवस्था तनावग्रस्त भएपछि स्थानिय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पीडित पक्षले रामकुमारले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आएर ठोक्किएको भनिएपनि घटना शंकास्पद रहेको बताएका छन् । घटनामा संलग्न प्रहरीलाई कारवाहीको मागसहित पीडित पक्ष र स्थानीय आन्दोलित बनेको हो ।

आक्रोशित स्थानीयहरूले इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनी गर्नुका साथै बयलवास स्थित इलाका प्रहरी कार्यालय केशरगन्जमा ढुंगामुढा समेत गरेका थिए । आज बिहान देखि नै अवस्था थप तनावग्रस्त भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँस र हवाई फायर समेत गरेको हो ।

यस्तै, जिल्ला प्रहरी कार्यालयसँगै ईलाका प्रहरी कार्यालय बरहथवाबाट डीएसपीको कमाण्डमा र विभिन्न प्रहरी युनिटहरुबाट इन्सपेक्टरको कमाण्डमा बिहान देखि नै प्रहरी टोली बयलवासमा परिचालन गरिएको छ । त्यसैगरी सशस्त्र प्रहरी समेत तैनाथ गरिएकोछ ।

आज ३ बजे देखि भोली ७ बजे सम्मको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारि गरेको हो ।



प्रतिक्रिया दिनुहोस्