Logo

महिलामाथि दुई दिनमा ९ जनाबाट बलात्कारको थप रहस्य खुल्दै



काठमाडौं, १४ पौष । सुर्खेतबाट काठमाडौं आएकी ३४ वर्षीया महिलाको आफ्नै वाध्यता थियो । पति भारतमा रोजगारीका लागि गई वेपत्ता भएका थिए । दुई सन्तानको लालनपालन गर्ने चुनौती थियो । काम पाइने आशामा उनी १२ पौषमा राजधानीमा आइपुगिन् ।

उनी मुगुका युवराज बडुवाको सम्पर्कमा पुगिन् । बडुवाल वैदेशिक रोजगारीका लागि काठमाडौं आएका थिए । उनले आफू बसेको गेष्ट हाउसमा मुगुको रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई बोलाए ।

बडुवाल र नेपाली दुवैले महिलामाथि बलात्कार गरे । उनीहरु मदिरा सेवन गरी बलात्कारमा संलग्न भएको खुलेको छ ।

१३ पौषमा महिलालाई थप पुरुषहरुले अरु गेष्ट हाउसमा लगेर बलात्कार गरे । उनलाई फरक गेष्ट हाउसमा लगेका थिए । धेरै पुरुषहरुले बलात्कार गरेपछि महिला बेहोश जस्तै अवस्थामा पुगिसकेकी थिइन् ।

अर्धचेत अवस्थामा १३ पौषको अपरान्ह महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा पुगिन् । उनले आफूमाथि बलात्कार भएको बताइन् । १० जना पुरुषले बलात्कार गरेको बयान दिइन् । उनको तत्काल स्वास्थ्य जाँच भयो । त्यसपछि प्रहरीले गेष्ट हाउसहरुमा अनुसन्धान बढायो ।

युवतीलाई सबैभन्दा पछि बलात्कार गरेको अभियोग लागेका गोपालकुमार श्रीष सुरुमै पक्राउ परे । त्यसपछि उजूरी परेको जानकारी पाएर आरोपीहरु भाग्न खोजे । तर, प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो । लुकेको अवस्थामा बसेका युवतीलाई सुरुमा गेट हाउसमा लाने युवराज बडुवालसहित हिक्मत नेपाली, रतन नेपाली, दिपक नेपाली, शिवहरी बुढा र सुरेश सेजुवाल गरी ६ जना एकै ठाउँबाट पक्राउ परे ।

१४ पौषको विहान हस्त नेपाली पक्राउ परे । महिलालाई बलात्कार गर्ने ९ जना युवामध्ये ८ जना पक्राउ परेका छन् । सबै आरोपी वैदेशिक रोजगारीका लागि जान लागेकाहरु थिए । उनीहरुमध्ये एकजना १५ पौषमा कतार उड्ने तय भएको थियो । महिलामाथिको बलात्कारको अभियोगमा उनीहरु पुषको ठण्डीमा प्रहरी हिरासतमा परेका छन् ।

प्रहरीले ८ जनासँगको बयानका आधारमा महिला कसरी युवाको सम्पर्कमा आइन् र के के भयो भन्ने पत्ता लगाएको छ । यसबारे वृस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, यति धेरै पुरुषको सम्पर्कमा महिला कसरी पुगिन् र गेष्ट हाउसमा बलात्कार हुँदा किन पहिल्यै उजूरी गरिनन् भन्ने प्रश्न उब्जिएको छ । यो घटनाको थप रहस्य खुल्दै जाने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्