Logo

किशोर नेपालको टिप्पणी : पर्यटन बोर्डका सिईओ रेग्मीको शक्ति सर्बोच्च अदालतको न्यायाधीशको कछाडमा अड्किएको रहेछ



काठमाडौं, १६ पुष । निलम्बनमा परेका नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले दिएको आदेशलाई लिएर विभिन्न टिकाटिप्पणी भैरहेको छ । रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले गत बुधबार आदेश दिएपछि सामाजिक सञ्जालमा यस्तो टिप्पणी सुरु भएको हो ।

बरिष्ठ पत्रकार किशोर नेपालले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–‘बिदेश भ्रमणबाट फर्किदा नेपाल पर्यटन बाेर्डका प्रमुखले छ बाेत्तल बिदेशी रक्सी भित्र्याए । एयरपाेर्ट भन्सारका कर्मचारीले राेक्दा पर्यटन प्रमुखले आफ्नो शक्ति देखाउन लागे । उनकाे शक्ति सर्बाेच्च अदालतकाे न्यायाधीशकाे कछाडमा अड्किएकाे रहेछ । फाेहाेरमा डुबेकाे न्यायकाे मन्दिर !”

न्यायाधीश दीपककुमार कार्कीले कारण देखाऊ आदेशका साथै अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई अदालत बोलाएका छन् । आदेशको लिखत तयार भइनसकेको भए पनि ३ माघमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको जनाईएको छ। त्यतिञ्जेलसम्म निलम्बनको निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश भएको छ ।

सिइओ रेग्मीले विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलको भन्सार कर्मचारीमाथि कुटपिट गरेको भिडियो बहिरिएको थियो । उनले त्यहाँका कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै शुक्रबार पर्यटन बोर्डको बैठकले उनलाई निलम्बन गर्ने र उनीमाथिको आरोप छानबिन गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्