Logo

ललिता निवास प्रकरणः आरोपी पक्राउ गर्न सीआइबी रातदिन नभनी सक्रिय



काठमाडौं, १६ पौष । ललिता निवास जग्गा प्रकरणमा पक्राउ पूर्जी जारी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपीलाई धमाधम पक्राउ गर्न थालेको छ । ब्यूरोको टोली पक्राऊका लागि सक्रिय भएको छ ।

विश्वस्त स्रोतका अनुसार ब्यूरोको टोली पक्राउका लागि सक्रिय भइसकेको छ । आरोपीहरुको घर ठेगान पत्ता लगाई लुकेको स्थानसम्म पुगेर भएपनि पक्राउ गर्ने गरी सक्रिय भएको छ ।

सीआइबीले काठमाडौं जिल्ला अदालतबाट १२० जनाको नाममा पक्राऊ पूर्जी जारी गराइसकेको छ । पक्राउ गर्नुपर्नेहरुको बस्ने र लुक्नसक्ने स्थानबारे यथार्थ पत्ता लगाएपछि सीआइबीले पक्राउ पूर्जी जारी गरेको बुझिएको छ ।

पक्राउ पर्ने डरले कतिपय पूर्व कर्मचारी र आरोपी फरार भइसकेका छन् । कतिपयले मोबाइलको सीमकार्ड समेत फालेका छन् ।

आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पक्राउ गरेपछि आफूहरु पक्राउ पर्ने देखेर कतिपय पूर्व कर्मचारीले नयाँ वर्ष मनाउन भन्दै देश छाडेका छन् । आरोपीहरुको भागाभाग भएको छ ।

२०४९ मा जग्गा हडप्ने कसुरमा संलग्न भनिएका ४० जना फरार सूचीमा रहेका, २०६२ मा जग्गा हिनामिनामा संलग्न १५ जना, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको निवास विस्तारका लागि भन्दै नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिएको प्रकरणमा ८० जना र २०६९ मा नक्कली टिकिन्छा गुठी कायम गरी नक्कली मोही खडा गर्ने ८५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको बुझिएको छ । उनीहरुमध्ये अधिकांशलाई केही दिनभित्रै पक्राउ गर्ने लक्ष्यका साथ सीआइबी सक्रिय भएको छ । धेरै जनालाई समात्नुपर्ने भएकाले सीआइबीले स्थानको समेत व्यवस्था गरिसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्