Logo

सहमति नबनेपछि माओवादीले पदाधिकारी छान्ने मिति सार्यो



काठमाडौं, १९ पौष । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा सर्वसम्मत चयन गरेपनि १४ पदाधिकारीको टुंगो लागेन । सहमति बन्न नसकेपछि पदाधिकारीमा नाम घोषणा भएन । प्रवक्ता कृष्णबहादुर महराले २५ पौषमा बैठक बसी बाँकी पदाधिकारीको टुंगो लगाउने बताए ।

माओवादीमा महासचिवका आकांक्षी धेरै भएपछि पदाधिकारीमा कुरा नमिलेको हो । अध्यक्ष प्रचण्डले सहमतिको प्रयासका लागि समय सारेको बुझिएको छ ।

१८ पौषमा माओवादी अध्यक्ष प्रचण्डले २९९ मध्ये २३६ केन्द्रीय सदस्य घोषणा गरेर बन्दसत्रबाट पारित गराएका थिए । माओवादी विधान अनुसार केन्द्रीय कमिटीले अध्यक्ष चयन गरेको हो । बाँकी पदाधिकारी चयन गर्ने अधिकार पनि केन्द्रीय कमिटीलाई नै छ ।

माओवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको नाम चयन हुने निश्चित जस्तै छ । उपाध्यक्षहरुमा वर्षमान पुन, जर्नादन शर्मा, पम्फा भुसाल, मातृका यादव, लिलामणि पाखरेल, ओनसरी घर्ती, देव गुरुङमध्येबाट चयन गर्ने तयारी भएपनि महासचिवमा यीमध्येबाट दाबी देखिएको छ ।

महासचिवमा वर्षमान पुन जर्नादन शर्मा र पम्फा भुसाल अकांक्षी देखिएपनि प्रचण्डले आफ्ना विश्वासपात्रलाई बनाउन खोजिरहेका छन् ।

महासचिवभन्दा तलको पदाधिकारीमा हरिबोल गजुरेल, दिनानाथ शर्मा, अमृता थापाको सम्भावना बलियो छ । सचिवमा अञ्जना विशंखे, हिमाल शर्मा, हितबहादुर तामाङ, अजम्बर राईलगायत आकांक्षी छन् ।



प्रतिक्रिया दिनुहोस्