Logo

भेषनारायण दाहाल जहाँ पुगे त्यहीं भसक्कै



काठमाडौं, २१ पौष । नारायणहिटी जग्गा प्रकरण यतिबेला चर्चामा छ । योजनावद्ध तरिकाले संग्राहालयभित्रको जग्गा रेष्टुरेन्ट खोल्न भाडामा दिएर पुरातात्विक सम्पदामाथि आक्रमण गर्न खोजेको खुलेपछि तरंग नै आएको छ ।

पुरातात्विक क्षेत्रमा यसरी जग्गा भाडामा दिने भूमिका निभाउने नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल हुन् । दाहाल यसअघि पुरातत्व विभागका निर्देशक थिए । उनको पालामा सम्पदा जोगाउनु त कहाँ हो कहाँ उल्टै अतिक्रमणका धेरै घटनाहरु भए ।

बहुचर्चित पुरातात्विक महत्वको ठमेलस्थित पोखरीमा छायाँ सेन्टर बन्दा आँखा चिम्लने उनै भेषनारायण दाहाल थिए । उनको पालामा छायाँ सेन्टर बन्दै गरेपछि पुरातत्व विभागमा समेत जानकारी पुगेको थियो । अदालतमा पुगेको उक्त विषयमा भेषनारायाणले शक्तिकेन्द्रको निर्देशन र आर्थिक लाभमा मौनता साँधेका थिए ।

शक्तिकेन्द्रलाई रिझाउन सिपालु भएकैले उनले नारायणहिटी संग्राहालय समितिको कार्यकारी निर्देशकको जिम्मेवारी पाए । उनले मन्त्रीको मौखिक सैद्धान्तिक सहमति दिएपछि आफूले जग्गा भाडामा दिन कदम चालेको भन्दै उम्कन खोजे । त्यो मौखिक आदेश तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई वा त्योभन्दा अघिका मन्त्री रवीन्द्र अधिकारीमध्ये कस्ले दिएको हो ? यसबारे खुलाएका छैनन् ।

दाहाल सम्पदा माँस्ने भूमाफियाले रुचाएका अधिकारी हुन् । त्यसैले पुरातत्व विभागको महानिर्देशक हुँदै उनी लाभको पदमा पनि पुगे । विगतमा छायाँ सेन्टरमा उनले जे गरे त्यस्तै गतिविधिहरु अन्यत्र पनि गर्न थाले । कमिशनको खेलमा फाइल अगाडि बढाइहाल्ने उनको कार्यशैली भएकैले लाभको पदमा ल्याइए । सम्पदाका रुपमा विकास भएको नारायणहिटीभित्र जग्गा भाडामा दिनेसम्मको कदम चाले ।

पुरातत्व क्षेत्रमा काम गरेर उनलाई चिन्नेहरु सम्पदा माँस्नेलाई फाइदा दिलाएर अकूत सम्पत्ति कमाएको भन्दै आएका छन् । सम्पदासम्बन्धी अध्ययन गर्न विदेश भ्रमणमा पनि गए । विभिन्न कलेजमा अध्यापन पनि गराए । तर, उनले सम्पदामाथि प्रहार गरेर ठूलो आर्थिक जोहो गरे ।

शक्तिको आँडमा उनीमाथि अख्तियारको पनि आँखा परेन । यसपटक नारायणहिटीको काण्डले भने उनीमाथि अख्तियारको आँखा परेको छ । उनको सम्पत्तिबारे छानविन हुन थालेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्