काठमाडौं, २१ पौष । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफ्नो समूहको छुट्टै बैठक राख्न थालेका छन् । सभापति शेरबहादुर देउवाको पेलाईमा परेपछि कोइरालाले आफ्नो समूहलाई एकढिक्का बनाउन लागेका हुन् ।
शेखर कोइरालाको समूहबाट काँग्रेसको १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य जितेकाहरुको उल्लेख्य संख्या छ । तीमध्ये उपसभापति धनराज गुरुङ्ग, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरु बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडू, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, दिनेश कोइराला, कृष्णकिशोर घिमिरे, चन्द्रमोहन यादवलगायत छन् ।
शेखर कोइरालाको प्यानलबाट चुनाव जितेपनि कतिपयको निकटता शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग रहेको देखिन्छ । यसकारण कोइरालालाई आफ्नो समूहलाई एकढिक्का बनाइराख्न चुनौती देखिएको छ । पौडेलले देउवालाई सभापति जिताउन भित्री भूमिका खेलेको निष्कर्षमा शेखर कोइराला समूहका हस्ती नेताहरु पुगेका छन् । उनले आफ्नै गुटलाई कायम राख्ने रणनीति बनाएको देखिन्छ । पौडेलले इतर समूहको नेताको हैसियतले देउवासँग भागवण्डाहरु लिइरहेका छन् । त्यसप्रति शेखर कोइराला समूह असन्तुष्ट बनेको छ ।
पौडेलले अझै भागवण्डा लिन सक्नुमा शेखर कोइराला समूहमा भनिएकाहरुमा उनीसँग पनि निकटता रहनु कारण देखिदैछ । उपभभापति धनराज गुरुङ्गको निकटता पौडेलसँगै अझै छ । दुवै गण्डकी प्रदेशका हुन् । धनराजले विगतमा पौडेललाई २०७४ को आमनिर्वाचन अघि भावी प्रधानमन्त्री भन्दै सार्वजनिक रुपमा पनि बोल्ने गर्थे ।
महामन्त्री गगन थापाको देउवासँग पुरानो निकटता छ । उनले देउवालाई नचिढ्याई अगाडि बढ्ने रणनीति प्रस्तुत गरिसकेका छन् । थापा गुट छिट्टै परिवर्तन गर्ने नेताका रुपमा चिनिएका छन् । उनी कुनैबेला कोइरालाहरुसँग नजिक थिए । १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलासँग नजिकिए । महामन्त्रीको उम्मेदवार बने । १४औं महाधिवेशन अघि प्रकाशमान सिंहसँग देखिए । अन्तिम समयमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनी विजयी भए । उनी लामो समय शेखर कोइरालाको साथमा रहनेमा आशंका गर्न थालिएको छ ।
सहमहामन्त्री बद्री पाण्डेको निकटता कोइराला परिवारका अन्य सदस्य र रामचन्द्र पौडेलसँग पनि छ । जीवन परियार पनि पौडेलसँग नजिक छन् । यसकारण पनि शेखर कोइरालालाई समूहलाई एकढिक्का बनाइराख्न चुनौती बनेको देखिदैछ ।