Logo

जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता दिन माग, पुस २५ गतेदेखि राष्ट्रियस्तरको आन्दोलन गर्ने घोषणा



काठमाडौं, २१ पुस । जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गरिएको छ। आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जन्मसिद्ध र एकल आमाका सन्तानहरुले नागरिकता नपाउँदा समस्या परेको भन्दै ई.इन्द्रजित साफीले नागरिकता दिन सरकारसँग माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै साफीले पुस २५ गतेदेखि आफ्नो अधिकार र पहिचानको लागि राष्ट्रि«यस्तरको आन्दोलन गर्नेपनि चेतावनी दिए । सरकारले जसरी भन्छ आफुहरु त्यसरीनै प्रस्तुत हुनेपनि उनले बताए । उनले जबसम्म माग पुरा हुँदैन त्यत्तिबेलासम्म आन्दोलन जारी रहने बताए । उनले एकपटक आफ्नो ठाउँमा उभिएर सोच्न पनि सरकारलाई आग्रह गरे ।

आफुहरुको अन्तिम नारा भनेको नै ‘आफ्नो बुवा आमाले नागरिकता पाइसके, कि त हामीलाई मारिदिनुहोस् कि त नागरिकता दिनुहोस् । होइन भने हामी कुन देशका नागरिक हो उतै पठाइदिनुहोस्’ रहेको सुनाए ।

ई.साफीले जुन आमाले ९ महिना कोखमा राखेर जन्माएको बच्चालाई उही आमाको नामबाट नागरिकता नदिईएको भन्दै सरकारप्रति गुनासो पोखे । ६ लाख ८० हजार भन्दा धेरै युवाहरुले आजसम्म नागरिकता नपाएको समेत उनले तथ्यांक सार्वजनिक गरे ।

अहिलेसम्म ज–जसले नागरिकता पाएका छन् उनीहरुले मात्र कसरी पाए ? यसको उत्तर सरकारले आफुहरुलाई दिनपर्ने उनको भनाई थियो ।
उनले मोटरसाइकलको लाइसेन्स, जग्गा पास गर्न, बैंक खाता खोल्न, सिमकार्ड लिन पनि नागरिकता आवश्यक हुने भएकोले नागरिकता नभएकै कारण धेरै समस्या पाइरहेको सुनाए । उनले भने,‘सरकारले हामीलाई अब कि तँ नेपाली होइनस भन्नुपर्यो होइन भने नागरिकता दिनुपर्यो । यसरी आफ्ना नागरिकहरुलाई समस्यामा राख्न भएन ।’

ई.साफीले जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएको पनि स्मरण गराए । त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँडलाई पनि यही समस्याबारे ज्ञापनपत्र बुझाईएको उनको भनाई छ ।

उनले नागरिकताबाट बञ्चित भएका पीडितको संख्या धेरै रहेको उल्लेख गर्दै लाखांै युवाहरुको नागरिकता नपाएर जिन्दगी बर्बाद भइरहेको जिकिर गरे । यसको जवाफ सरकारले दिनैपर्ने उनको भनाई थियो । उनले आफुपनि ईन्जिनियरिङ्ग अध्ययन सकेर बसेको तर नागरिकता नभएकै कारण कैयौं सेवा तथा सुविधाबाट बञ्चित भएको गुनासो गरे ।

पीडित साफीले सरकारले आफ्नो देशका नागरिकहरुलाई जसरी पनि नागरिकता दिन माग गरे । कति आमाको आफ्नो नागरिकता नभएको कारण बच्चाको जन्मदर्ता गर्न नपाएर धेरै बच्चाहरुले पढ्न नपाएको र शिक्षाबाट बञ्चित भएको उनले दुःखेसो पोखे ।

सरकारले सुनेरपनि नसुनेकोजस्तो र बुझेपनि नबुझेकोजस्तो गरेर झन् आफुहरु थप पीडित भएको उनले बताए । देशभरिबाट नागरिकताबाट बञ्चित भएका साथीहरु एकजुट भएको उनले जानकारी दिए ।

यही पुष २५ गतेदेखि संसद् भवन घेराउ, सिंहदरबारस्थित् मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय घेराउ तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अन्य नेताहरुको निवास घेराउ गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

 

 



प्रतिक्रिया दिनुहोस्