Logo

गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछः अध्यक्ष नेपाल



काठमाडौं, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताएका छन् ।

आफ्नो पार्टीको शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा उनले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताएका हुन् । अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको बताए । उनले भने, “ठूलो सङ्ख्यामा सङ्गठित सदस्य रहेका दलहरु पनि समाहित भइरहेका छन् ।”

अध्यक्ष नेपालले आफू निर्वाचित हुँदा र नहुँदा दुवै अवस्थामा आफूले काठमाडौँ क्षेत्र नं २ को विकासमा चासो र अग्रसरता लिँदै आएको बताउँदै काठमाडौँ जिल्ला भए पनि कर्णालीका रुपमा रहेको शङ्खरापुर–२ मा सडकलगायत पूर्वाधार निर्माणमा आफूले अग्रसरता लिँदै आएको दाबी गरे ।

“आफ्नो क्षेत्रमा कोटेश्वरदेखि लिएर भक्तपुर सिन्धुपाल्चोकको सीमासम्म र विकसितदेखि अविकसित ठाउँसम्म रहेको छ”, उनले भने, “त्यस क्षेत्रमा सडक, पार्क, विद्यालय भवनलगायत पूर्वाधार निर्माणमा आफ्नो सहयोग निरन्तर रहनेछ ।” रासस



प्रतिक्रिया दिनुहोस्