Logo

ललिता निवास जग्गा प्रकरणबारे सर्वेन्द्र खनालले प्रेम राईलाई बुझाएको पत्रमा के थियो ?



काठमाडौं, २३ पौष । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण अहिले चर्चामा छ । तर, यसको खोजीनीति विगतमा नै भएको थियो ।

२०७६ सालमा बालुवाटारस्थित जग्गा भूमाफियाले व्यक्तिको नाममा पारेको विषयमा अध्ययन अनुसन्धान हुँदा नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल थिए । गृह सचिव प्रेमकुमार राईले यसमा निकै चासो राखेका थिए । खनालले केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका तत्कालिन निर्देशक निरज शाहीलाई निर्देशन दिएर अनुसन्धान बढाएका थिए ।

ललिता निवासको जग्गाको खोजीनीति हुन थालेपछि अनुसन्धानमा खटिएका कतिपयमाथि विभिन्न ढंगबाट दबाब खडा गरिएको थियो । तर, प्रहरीले साहसका साथ अनुसन्धान बढाएको थियो ।

सीआइबीले तीन सयभन्दा बढी संलग्न भएको पत्ता लगायो । अध्ययनसम्बन्धी पत्र नेपाल प्रहरीको हेडक्वार्टरमा पुग्यो । १९ पौष २०७६ मा सर्वेन्द्र खनालले प्रेम राईलाई आरोपीहरुबारे उल्लेख गरी जाहेरीका लागि पत्र बुझाएका थिए । जसमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, पूर्वसचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी, नारायणगोपाल मलेगु, सरकारका पूर्व कर्मचारी, जग्गा नाममा पारेका देखि मुख्य अभियुक्त शोभाकान्त ढकाल, रामकुमारी सुवेदीलगायतको नाम थियो ।

त्यतिबेला प्रहरीकै जाहेरी पत्र र अनुसन्धानका आधारमा अख्तियारले थप अनुसन्धान गरी मुद्दा दायर गरेको थियो । अनुसन्धानपछि कतिपयलाई जोगाउन खोजिएको थियो । लहरो तान्दा पहरो समेत गर्जिएपछि भागाभागको अवस्था बनेको थियो ।

नेपाल प्रहरीको सीआइबीले फेरि अनुसन्धान गरी ३ सय जनालाई नै आरोपी देखाई सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । विगतमा सीआइबीले गरेको अनुसन्धान र पछिल्लो अनुसन्धानबाट को को नयाँ आरोपी थपिए या कस्लाई उन्मुक्ति दिन खोजियो भन्ने चासो बढेको छ ।

रोचक पक्ष यो छ कि त्यतिबेला ललिता निवास प्रकरणमा चासो दिने तत्कालीन गृहसचिव प्रेमकुमार राई अहिले अख्तियारका प्रमुख आयुक्त छन् । यो प्रकरणमा अख्तियारले विगतमा नै मुद्दा दायर गरिसकेको छ । सीआइबीको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयमार्फत् किर्ते ठगीको मुद्दा दायर हुनसक्छ । भ्रष्टाचारको मुद्दा दायर गर्ने निकाय अख्तियार भएकाले यसबारे फेरि थप कदम चालिने सम्भावना पनि रहेको छ ।

सीआइबीले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन बुझाउनु अघि दुईजनालाई मात्र पक्राउ गरेको छ । रामकुमार सुवेदी र माधवी सुवेदी मात्र पक्राउ परेका हुन् । शोभाकान्त ढकाल कारागारमा छन् । उनकी पत्नी उमा ढकाल फरार छिन् । कतिपय पूर्व कर्मचारी सीआइबीले अनुसन्धान गर्दा गर्दै फरार भए ।

२०४९ मा जग्गा हडप्ने कसुरमा संलग्न भनिएका ४० जना फरार सूचीमा राखिए । २०६२ मा जग्गा हिनामिनामा संलग्न १५ जना, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको निवास विस्तारका लागि भन्दै नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिएको प्रकरणमा ८० जना र २०६९ मा नक्कली टिकिन्छा गुठी कायम गरी नक्कली मोही खडा गर्ने ८५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएपनि २ जनामात्र पक्राउ पर्नुलाई रहस्यमय मानिएको छ ।

२०४९ सालमा मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्यका आफन्त, शाखा अधिकृत प्रेमबहादुर खापुङ, योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारी, प्रमुख मालपोत अधिकृत कलाधर देउजा, मालपोत अधिकृत सुरेन्द्रमान कपाली, डिल्लीबजार मालपोतका नायब सुब्बा जगन पुडासैनी, समरजंग कम्पनीका सहलेखापाल विनोदप्रसाद पौडेल, विचौलिया रामकल्याण अधिकारी र रामनाथ अधिकारी खोजीमा परेका थिए । उनीहरु २ वर्ष अघि नै सीआइबीले आरोपी बनाएकाहरु हुन् ।



प्रतिक्रिया दिनुहोस्