काठमाडौँ, २४ पुस: कानूनी व्यवस्थाविपरीत उपभोक्ता समितिले गरेको काममा डोजर प्रयोग भएको तस्बिरसहित सार्वजनिक भएपछि डोजर लगाउन बन्द गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीमा अरुणोदय माध्यमिक विद्यालयको नयाँ भवन पानीखोल्चा पहिरोको जोखिममा परेपछि वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब रु ४० लाख बजेट विनियोजन ग¥यो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरेको थियो । हाल प्रदेश सरकारले यो मन्त्रालय फुटाएर बनाएको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय वसुन्धराले आयोजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरेको छ ।
उपभोक्ता समितिले कानूनविपरीत डोजर चलाएर काम गरेको समाचार सार्वजनिक भएपछि डोजर हटाउन कार्यालयले निर्देशन दिएको हो । स्थानीयलाई रोजगारी सिर्जना गर्ने र आयोजनाप्रति स्थानीयवासीको स्वामित्व बढाउने उद्देश्यले उपभोक्ता समितिको अवधारणा अघि सारिए पनि यसको प्रयोगमा विकृति बढ्दै गएको समाचार शुक्रबार राससबाट सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएपछि डिभिजन कार्यालयका कार्यालय प्रमुख सिग्देलले डोजर लगाएर काम गर्न रोक लगाएको पानीखोल्चा पहिरो नियन्त्रण उपभोक्ता समितिका सदस्य पासाङ लामाले राससलाई जानकारी दिए ।
पहिराको भिरतर्फ डोजर लगाउँदा पनि आयोजनास्थलमा प्राविधिक भने भेटिएका थिएनन् । डिभिजन कार्यालय, नगरपालिका र वडाकासमेत प्राविधिकले बैठक गरेर भनेअनुसार नै डोजर चलाएको जानकारी लामाले दिए । डोजर चलाएको तस्बिरसहित समाचार सार्वजनिक भएपछि भने कार्यालय प्रमुख सिग्देलले स्थानीयवासीबाट काम गर्न निर्देशन दिएका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले गल्ती भएको स्वीकार गर्दै त्यसलाई सच्याएर पहिराको जोखिमबाट विद्यालय एवं त्यसमुनिको बस्तीलाई जोगाउन लागिएको बताए ।-रासस