काठमाडौं, पुस २५। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सत्ता साझेदार पाँच दलले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन् ।
वरिष्ठ नेता पौडेलले गठबन्धन समन्वय समितिको बैठकमा १२बुँदे प्रस्ताव पेस गर्दै एमसीसीबारे साझा धारणा बनाउनुपर्ने बताएका हुन् ।
पौडेलले भने, “आर्थिक सहयोग राष्ट्रको हितमा हुनुपर्छ । एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेको छ । त्यसैले पाँच दलले स्पष्ट धारणा बनाउनुपर्छ भन्ने प्रस्ताव गरेको हुँ ।” उनले संसद्को गतिरोध हटाउन प्रयत्न गर्नुपर्ने, सर्वोच्च अदालतको गतिरोध हटाउनुपर्ने र नारायणहिटीपरिसरभित्र कुनै संरचना निर्माण गर्न नदिई, त्यसलाई प्राकृतिक मनोहर पार्कमा परिणत गर्नुपर्ने प्रस्ताव गरेको बताएका छन् ।
अन्य सरकारी जमिन, नदी किनाराका जमिन तथा राष्ट्रिय सम्पत्ति खोजबिन गरी रेकर्ड दुरुस्त राख्न लगाउने तथा तिनको उचित उपयोग र संरक्षण गराउने उनको प्रस्ताव रहेको छ ।
त्यस्तै, पौडेलले निजगढ विमानस्थल निर्माण, बूढीगण्डकी, माथिल्लो कर्णाली, सुनकोसी डाइभर्सन, भेरी डाइभर्सन, मेलम्ची र जनकपुर रेल सञ्चालनलगायतका राष्ट्रिय आयोजनाको गतिरोध हटाई कार्यान्वयन अघि बढाउने प्रस्ताव गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।