Logo

गठबन्धन भत्काउने गरी ओलीको रणनीति



काठमाडौं, २५ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभाको चुनावमा पाँच दलीय गठबन्धनका कारण झस्किएका छन् । एकपछि अर्को धक्का खान थालेपछि उनी झस्किएका हुन् । गठबन्धनमा कुनै अन्तर्घात नभए राष्ट्रियसभाको १९ सिटमा एमालेलाई नराम्रो धक्का लाग्न सक्छ । यसको असर आगामी वर्ष हुने तीन तहको चुनावमा पर्न सक्छ ।

यसैलाई दृष्टिगत गरी ओली गठबन्धन भत्काउने रणनीतिमा लागेका छन् । उनले अमेरिकी सहयोगसम्बन्धी एमसीसीलाई गठबन्धन भत्काउने उत्तम अस्त्रका रुपमा देखेका छन् । गठबन्धनभित्र एमसीसीबारे मतभेद छ । नेपाली काँग्रेस एमसीसीको पक्षमा खुलेको छ । तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनमोर्चा नेपाल एमसीसी सदनबाट पारित गर्ने पक्षमा छैनन् ।

ओलीले सदन खुलाएर एमसीसी अगाडि बढाएमा साथ दिन सक्ने बताएका छन् । तर, त्यसका लागि गठबन्धन तोड्नुपर्ने उनको शर्त छ । काँग्रेसलाई एकलौटी सरकारको नेतृत्व गर्न दिन समेत ओली तयार छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पारित गराउने पक्षमा छन् । उनले सकभर गठबन्धनभित्र सहमति बनाएर एमसीसी पारित गर्ने नभए ओलीसँग मिलेर भएपनि पारित गर्ने रणनीति बनाएको देखिन्छ । यो दुवै अवस्थामा नगए उनले एमसीसी यो सदनबाट नभई अर्को सदनबाट पारित गराउने गरी अलमल गराउन सक्छन् ।

ओलीका लागि चुनावको चाहना देखिदैछ । उनी सकभर छिटो चुनाव गराउन चाहन्छन् । देउवालाई त्यसका लागि दबाब दिइरहेका छन् । देउवाले भने सरकार पूरा अवधि टिकेर मंसिरमा चुनाव हुने संकेत गरेका छन् । तर, राजनीतिक लेनदेनले धेरै घटनाहरु मोडिन सक्छ ।

ओलीले कुनै हालतमा गठबन्धन तोड्नुलाई अहिलेको मुख्य लक्ष्य देखेका छन् । गठबन्धन तोड्न नसके चुनावमा ठूलो धक्का खान सकिने डर ओलीलाई परिसकेको छ । यसैले उनले एमाले एक्लै हिंड्ने रहर गर्दैन सम्म भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्