Logo

पदाधिकारी विवादमा मुछिएपछि गलेश्वर शिवालयको नेतृत्व परिवर्तन



म्याग्दी, २५ पुस: बेनी नगरपालिका–९ स्थित जिल्लाको प्रमुख धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी विवादमा मुछिएपछि विशेष अधिवेशनबाट नेतृत्व परिवर्तन भएको छ । शनिबार भएको सातौँ विशेष अधिवेशन तथा १६ आँै कार्यकारीसभाबाट माधवप्रसाद रेग्मीका अध्यक्षतामा चयन भएको समितिको उपाध्यक्षमा बमबहादुर पुन, सचिवमा बलबहादुर खत्री, कोषाध्यक्षमा कुमारी रोका रहेका छन् ।

गत अधिवेशनबाट अध्यक्षमा निर्वाचित रुद्रबहादुर कार्कीको निधन भएको र उपाध्यक्ष भीमनाथ परालुलीले आफैँ पदाधिकारी भएको संस्थाका विरुद्ध उजुरी गरेर विवादमा तानिएपछि ज्येष्ठ सदस्यका हैसियतमा रेग्मीका अध्यक्षतामा विशेष अधिवेशन बोलाइएको हो ।

सदस्यमा आशिका पुर्जा, रवीन्द्र कार्की, पूर्णबहादुर बानियाँ, मनोज पौडेल, पुण्य चोखाल, सुरेन्द्रराज शर्मा, टीकानन्द सुवेदी, धनप्रसाद रोका र हीराबहादुर बरुवाल चयन भएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए । कोषका प्रमुख संरक्षकसमेत रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गुठी संस्थानमा परेको उजुरी छानबिनका क्रममा पहिचान भएका कमजोरी सुधार गर्न विशेष साधारणसभा गर्नुपर्नेलगायत १३ बुँदे निर्देशन दिइएको बताए ।

प्रजिअ रानाले कोषको विधान संशोधन गरेर समयसापेक्ष बनाउन, कोषको आम्दानीलाई धेरै सहकारीमा नराखी अक्षयकोष बनाएर बैंकमा राख्न, जडभरत संस्कृति माध्यमिक विद्यालय, अन्नक्षेत्र, राधाकृष्ण मन्दिर र गलेश्वर वृद्धाश्रमलाई कोषअन्तर्गत सञ्चालन गर्न निर्देशन दिए ।

गलेश्वर मन्दिरको छानोलाई पित्तललाई छाइनुका साथै कालीगण्डकीको पानी तानेर स्नान गर्ने खानेपानी आयोजना निर्माण गर्नुलाई कोषले पछिल्लो एक वर्षको उपलब्धि मानेको छ । कोरोना महामारीका कारण कोषको आम्दानी घट्दा संस्कृति विद्यालय, अन्नक्षेत्र र ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्न समस्या भएको छ ।

रु दुई करोड ७० लाख ३७ हजार ७७४ बचत रहेको कोषले चालु आर्थिक वर्षका लागि रु तीन करोड ९४ लाख र आगामी आर्थिक वर्षका लागि रु १२ करोड १८ लाख ६० हजारको आयव्यय विवरण प्रस्ताव गरेको छ । साउनदेखि यता रु दुई करोड ९२ लाख १० हजार ९१ आम्दानी र रु २१ लाख ७२ हजार ३१७ खर्च भएको छ । यस वर्ष १०८ धारामा कालीगण्डकीको पानी तानेर स्नान गर्ने व्यवस्था मिलाउने योजना बनाएको छ ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । हिन्दू धर्मग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्छ ।-रासस



प्रतिक्रिया दिनुहोस्