Logo

हिउँ खेल्न पुगेकाको एक लाख कार अड्किएपछि… (भिडियोसहित)



एजेन्सी, २५ पौष । हिमपात भएपछि पर्यटकहरु लाखौंको संख्यामा पहाडतिर लागे । उनीहरु चढेको एक लाखभन्दा बढी कार हिमपात बढेपछि अड्कियो ।

हिमपातमा रमाउँदै पहाडतर्फ उक्लिएकाहरु जाममा परे । रात छिप्पिदै गयो । कारभित्र चीसो बढ्यो । कार नै हिउँले छोपियो । जसका कारण कारभित्र रहेका कतिपय कठ्याङ्ग्रिए ।

कारहरु अगाडि नबढेपछि सुरक्षाकर्मीले चेकजाँच गर्न थाल्यो । हिउँ निकाल्दै चेकजाँच गर्ने क्रममा केही कारभित्र रहेका सबैको मृत्यु भएको थियो । यो घटना पाकिस्तानको इस्लामावाद नजिकैको मुररे भन्ने क्षेत्रमा भएको हो ।

मृत्यु हुनेमध्ये एकजना प्रहरी अधिकारी, उनकी पत्नी र छ जना बालकालिका थिए । अर्को कारमा एकै परिवारका पाँचजनाको मृत्यु भयो । कुल २१ जनाको मृत्यु भएको खुलिसकेको छ । हजारौंको उद्धार गर्नुपरेको थियो ।

सामाजिक सञ्जालमा मुररे क्षेत्रमा हिउँ खेलेको दृश्यहरु भाइरल हुन थालेपछि लाखौं पर्यटक उक्लिएका थिए । मानिसहरुको बाढी नै उर्लिएपछि उक्त क्षेत्र नै अस्तव्यस्त भयो ।

कारहरु हिउँमा जाममा पर्दा खाना र पानीको अभाव भयो । उक्त क्षेत्रलाई प्रकोपक्षेत्र घोषणा गरिएको छ । मानिसहरुलाई सरकारी भवन र विद्यालयमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्