Logo

ऊर्जामन्त्री भुसालद्वारा खोकना राजकुलो मुहान निर्माणको शिलान्यास



काठमाडौँ, २५ पुस: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छिन् । उनले ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा निर्माण सुरु गरिएको सो मुहानको आज उद्घाटन गरेकी हुन् ।

ललितपुरको उत्तर–पश्चिममा अवस्थित खेकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्षअघिदेखि सञ्चालनमा आएको स्थानीय बताउँछन् । सो राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकामा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर गरिँदै आएको छ । स्थानीय कृषकको मागलाई मध्यनगर गर्दै आवश्यकता र पहिचानका आधारमा चालू आर्थिक वर्षमा मन्त्रालयले मुहान संरक्षणका लागि रु एक करोड ३२ लाख र नहर निर्माणका लागि रु ४० लाख विनियोजन गरेको थियो ।

कुलोको मुहान शिलान्यास गर्दै मन्त्री भुसालले ऊर्वराभूमिलाई खण्डीकरण गरेर घडेरीका रूपमा बिक्री गर्नेभन्दा पनि उर्वरा जमिनबाट कृषि उत्पादन गरी त्यहीबाट आर्थिक उपार्जन गर्न खोकनावासीलाई आग्रह गरिन् । सामूहिक खेती गरेर उत्पादकत्व वृद्धितर्फ लाग्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, “हामी सबै मिलेर सामूहिक खेती गरौँ, म पनि खेतीमा सामेल भएर काम गर्न चाहन्छु ।”

तेलका लागि प्रसिद्ध खोकना सांस्कृतिक एवं कृषिका दृष्टिकोणले ऐतिहासिक रहेको उल्लेख गर्दै मन्त्री भुसालले शिलान्यास गरिएको राजकुलोको काम गुणस्तरीय तवरले निर्धारित समयमा सकाउन निर्देशन दिईन् । उनले भनिन्, “उपभोक्ताले कामको निरन्तर नियमन गरेर कुलोबाट जतिसक्दो धेरै फाइदा लिने गरी निर्माण गर्नुपर्छ, त्यसको आवश्यक प्रबन्ध म गर्नेछु, स्थानीयस्तरमा तपाइँहरू सक्रिया हुनुहोस् ।”

संविधानमा उल्लेख गरिएको समाजवादको यात्राका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “हामीले भनेको समाजवाद हाम्रै सीप र परिश्रमबाट आउने हो, त्यसका लागि निरन्तर सिर्जनशील काम गर्नुपर्छ ।”-रासस



प्रतिक्रिया दिनुहोस्