Logo

प्रजातन्त्रवादी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय



एजेन्सी, २६ पुस। म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ । सुकीलाई बिना लाइसेन्स वाकी-टकी राखेको आरोप लगाइएको छ। फेब्रुअरीमा, सेनाले नागरिक सरकारमाथि सैन्य विद्रोह गरेर सुकीलाई अपदस्थ गरेको थियो। उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको, सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोगमा ४ वर्ष जेल सजाय सुनाइएको थियो । उनीमाथि भ्रष्टाचार,गोप्य ऐन उलंघनलगायत ११ वटा आरोप लगाइएको थियो।

पछि यो सजाय घटाउँदै साढे दुई वर्ष घरमै नजरबन्द हुनुपर्ने बताएको थियो। धेरै रिपोर्टका अनुसार सत्ता परिवर्तनपछि भएको हिंसात्मक प्रदर्शनमा १ हजार बढी मानिसको मृत्यु भएको छ । डिसेम्बरमा सुकीको सजायको अन्तर्राष्ट्रिय निन्दा भएको थियो । म्यानमारका जनताले यो निर्णयप्रति असन्तुष्टि जनाएका थिए।

यस निर्णयमा ह्युमन राइट्स वाचका अनुसन्धानकर्ता मेनी मोङले अर्को सजायले राष्ट्रियस्तरमा असन्तुष्टिलाई थप गहिरो बनाउने बताएका थिए। उनले समाचार एजेन्सी एएफपीलाई भनेका थिए, ‘जब उनलाई पछिल्लो पटक सजाय सुनाइएको थियो, यो मुद्दा म्यानमारमा सामाजिक सञ्जालमा सबैभन्दा बढी चर्चामा र जनआक्रोश पनि थियो।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्