Logo

प्रचण्ड र विप्लव दुवैसँग एकता हुदैन्ः मोहन बैद्य



काठमाडौँ, २७ पुस: नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताएका छन् । आज (मंगलबार) राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग भने एकता सम्भव नभएको बताएका हुन् ।

प्रचण्डले पूर्वमाओवादीहरुसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्दै आएको तर पछिल्लो समय आफूहरूले एकताको प्रयास नै नगरेको उनले स्पष्ट पारे । माओवादी केन्द्रले आफूलाई संविधानको असली संरक्षकका रुपमा प्रस्तुत गरेको, तर आफूहरुले पुरानो राज्यसत्ता, संविधान र संसदीय व्यवस्था स्वीकार नगर्ने उनले बताए ।

प्रचण्डको पछिल्लो दस्तावेजमा पनि संसदमा जानु, सेना समायोजनमा जानु गल्ती भयो नभनेको, बरु विद्रोहको कुरा गर्नु गल्ती भयो भनेको भन्दै क्रान्तिकारी माओवादीका महासचिव बैद्यले अघि भने, ‘उहाँहरूले संसदीय व्यवस्था स्वीकार गरिसक्नुभएको छ, उहाँहरुसँग एकताको प्रयत्न गर्न जरुरी छैन । हाम्रो पार्टी एकता सम्भव छैन ।’

विप्लव र मोहनविक्रम सिंह नेतृत्वको पार्टीसँग एकता प्रयास गरेको, तर त्यो पनि सम्भव नभएको बताए । छिट्टै क्रान्ति गर्नुपर्छ भनेर विप्लवहरू अलग भएर गएको तर, शान्तिपूर्ण राजनीति गर्ने भनेर तीनबुँदेमा आएको उनले स्मरण गरे ।

पछिल्लो समय त जनमत संग्रहबाट समाजवाद ल्याउने कार्यदिशा अगाडि सारेको भन्दै बैद्यले भने, ‘प्रचण्डजीहरूले शान्तिपूर्ण बाटोबाट समाजवाद आउँछ भन्नु र विप्लवजीहरुले जनमत संग्रहबाट समाजवाद आउँछ भन्नुमा के फरक भयो र’ अघि भने, ‘प्रचण्डकै बाटोमा गइहाल्यो भने त नभनौं, तर त्यतै सोझिनुभयो भन्ने लाग्छ।’-File Photo



प्रतिक्रिया दिनुहोस्