Logo

वीर अस्पतालमा डा. लोहनीको सरुवा रोकियो



काठमाडौं, २९ पुस । स्वास्थ्य मन्त्रालयले कोभिड युनिफाइड (वीर अस्पताल)को प्रशासकीय प्रमुखमा सरुवा गरेको डा.गुणराज लोहनीको सरुवा रोकिएको छ । डा.लोहनीलाई हाजिर हुन नदिने भन्दै वीर अस्पतालका कर्मचारीहरु चेतावनी दिएका थिए । कर्मचारीले उनको सरुवा रोक्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरेको डा.लोहनीको सरुवा रोकिदिएका हुन् । प्रधानमन्त्रीसँग सल्लाह नगरी खतिवडाले सरुवा गरेको कारण प्रधानमन्त्रीको आदेशमा लोहनीको सरुवा रोकिएको जनाइएको छ । फेरी अब डा.भुपेन्द्र बस्नेत नै वीरको निमित्त प्रमुख कायम भएका छन् ।

वीर अस्पताल कर्मचारी संघले ५ महिनामात्र जागिर अवधि रहेका लोहनी वीर अस्पताल सुधारका विरोधी रहेको भन्दै अर्बौको स्वास्थ्य सामग्री खरिदको उद्देश्यले मात्र मन्त्री रिझाएर अस्पताल आउन लागेको आरोप लगाएको छ ।

स्वास्थ्य मन्त्री खतिवडाले मंगलवारमात्र लोहनीलाई वीर अस्पतालको १२ औं तहको प्रशासकीय प्रमुखका रुपमा सरुवा गरेका थिए । यसअघि जागेश्वर गौतमलाई त्यहाँबाट हराएर डा. भुपेन्द्र बस्नेतलाई निमित्त दिइएको थियो । अस्पताल सुधारको काम अघि बढिरहेका बेला आर्थिक चलखेलबाट सरुवा भएको उनीहरुको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्