Logo

गैँडाको खाग चोरी निकासी गर्ने फरार प्रतिवादी पक्राउ



चितवन, २९ पुस: गैँडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार बिहान १ः३० बजे आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट उनलाई पक्राउ गरिएको हो ।

विसं २०७७ भदौ २१ गते निकुञ्जका अमलटारी सेक्टरअन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा माउ र बच्चा गरी दुई गैँडा मारेर खाग तस्कर गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँ र निकुञ्जको संयुक्त टोलीले पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

गैँडा मारी खाग चोरी शिकारी गरी फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । सो घटनामा उनीसँगै १३ जना सहभागी रहेको खुल्न आएको भए पनि हालसम्म ११ जनालाई पक्राउ गरी अदालतमा बुझाइएको उनले जानकारी दिए । पक्राउ परेका उनलाई २८ गते नै नवलपुर जिल्ला अदालतमा बुझाइएको सूचना अधिकारी तिवारीले बताए । यस मुद्दामा अझै दुई जना फरार रहेको निकुञ्जले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्