काठमाडौँ, ४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी छ ।
बैठकमा यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको रणनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । साथै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि गरेको तयारी, प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा जनाउँदै आएको विरोध, कोरोना महामारीका विषयमा पनि बैठकमा छलफल भइरहेको स्रोतले बताएको छ ।
सरकार संचालनमा सहयोग गर्ने उद्देश्यले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन् ।