काठमाडौं, ५ माघ । सत्तामा पुग्यो कि अर्थ उपार्जनमा मरिमेटेर लाग्यो । यो प्रवृत्ति घट्नको साटो बढेको बढ्यै छ । चुनाव नजिकिदै गर्दा सत्तामा रहेकाहरु अनेक दुलो खोतल्दै अर्थ जोहोमा लागेका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध निकै बोलेपनि ओम्नी प्रकरण देखि जग्गा लिज प्रकरणहरु भए । कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिदमा समेत व्यापक अनियमितताको विषय खुल्यो ।
काठमाडौंको महत्वपूर्ण जग्गाहरु सस्तोमा भाडामा लगाएर अर्थोपार्जनका क्रियाकलाप भए । वायुसेवा निगमलाई निजीकरण गर्ने योजनावद्ध प्रयासहरु भए । विभिन्न नियुक्तिमा पनि ठूलै चलखेलहरु भए । ठेक्का प्रकरणमा मन्त्रीले नै घूसको बार्गेनिङ गरेको खुल्यो । अरबौंको खेलहरु भए ।
अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा कमाउने प्रतिष्पर्धा चल्न थालेको छ । मन्त्रीहरु चुनाव नजिकिदै गरेको भन्दै कमाउने ठाउँ खोज्न सहयोगीहरुलाई निर्देशन दिन थालेका छन् ।
विवादमा परेका उद्दोगी व्यवसायी तारोमा परेका छन् । उनीहरुले गरेका गल्ती खोज्दै अप्ठ्यारोमा पार्ने कामहरु भएका छन् । यसमा उद्दोगी व्यवसायीको पनि गल्ती देखिएको छ । यही गल्ती देखाएर प्रहारहरु भइरहेका छन् ।
बतास प्रकरण चर्चामा छ । बतासको हुर्मत लिएर अन्य व्यवसायीबाट असुल्न ठूलै समूह लागेको छ । सरकारी जग्गा लिजमा लिएकाहरु सत्तामा रहेकाहरुसँग कुरा मिलाउन थालिसकेका छन् ।
बैंकहरुको मर्जरमा पनि ठूलै चलखेलहरु भएका छन् । पछिल्लो समय इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर रोकिएको छ । हिमालयन बैंकलाई मर्जरको निर्णयबाट रोक्न सञ्चयकोष संस्थानको प्रयोग अर्थमन्त्री जर्नादन शर्माले प्रचण्डको निर्देशनमा गरेका छन् । यसबाट उनले ठूलै लाभ लिएको बुझिएको छ ।
यसैगरी, नेबिल बैंक र एनबी बैंकको मर्जरमा ठूलै खेल चलिरहेको छ । अदालतमा मुद्दा विचाराधीन छ । विदेशीको समेत लगानी रहेको एनबी बैंकलाई मर्जरका लागि माहोल बनाउन बिनोद चौधरी लागेका छन् । उनलाई रोक्न पशुपति मुरारकालगायत लागेका छन् ।
व्यापारीहरु नेताको तारोमा पर्दा मारमा भने उपभोक्ताहरु पर्ने भएका छन् । आलोपालो ठूलै पैसा जोहोको खेल चलिरहँदा यसपटकको चुनावमा पैसाको खोलो नै बग्ने देखिएको छ । अबको चुनाव पैसाको खोलो बग्ने गरी हुने बुझेर स्थानीय तह देखि प्रदेश र प्रतिनिधिसभामा लड्ने इमान्दार कार्यकर्ता निराश भएका छन् । टिकट बाँडफाँडमा पनि पैसाकै खेलहरु हुने देखिएको छ ।
यसपटकको चुनावमा पैसाको खोलो नै बगेर किर्तिमान कायम हुने आँकलनहरु हुन थालेको छ । यसकारण सत्तामा रहेका र नरहेकाहरु समेत व्यापारीलाई चुस्ने गरी तयारीमा बसिसकेका छन् ।