काठमाडौं, माघ ६। विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को महामारी तत्काल अन्त्य नहुने र ओमिक्रोन भेरिएन्टलाई हलुका रुपमा लिन नहुने बताएको छ।
‘यो महामारीको अन्त्य छिट्टै हुने संकेत देखिँदैन,’ संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले मंगलबार आयोजित मिडिया ब्रिफिङमा भने।
गत साता मात्र विश्वमा थप १ करोड ८० लाख मानिसमा संक्रमण देखिएको जनाउँदै संगठनले ओमिक्रोन भेरिएन्ट संक्रमणलाई कमजोर नठान्न र यसले मृत्यु ननिम्ताउने भनेर भ्रममा नपर्न आग्रह गरेको छ। स्वास्थ्य केन्द्रमा ठूलो चाप देखिएको संगठनले जनाएको छ।
‘मृत्युको संख्या हाललाई स्थिर देखिएको छ। तर स्वास्थ्य केन्द्रमा बढ्दो दबाबले स्वास्थ्यकर्मीमा चिन्ता थपिएको छ,’ महानिर्देशक घेब्रेससले भने। उनले केही देशमा महामारी उच्च विन्दुमा पुगेका कारण पछिल्लो लहरका सबैभन्दा घातक दिनको अन्त्य भएको देखिएको तर समग्रमा कुनै पनि देश संकटमुक्त नभएको बताए।
‘खोपको कमजोर दर भएका देशमा संक्रमित गम्भीर हिसाबले बिरामी हुन सक्ने तथा खोप नलगाएमा मृत्युको प्रतिशत बढी हुने हुँदा चिन्ता थपिएको छ’, उनले भने।
कोरोनाका अन्य भेरिएन्टभन्दा ओमिक्रोन कम घातक भए पनि यसलाई मध्यमखाले रोग ठान्दा रोग प्रतिकार्य कमजोर हुने र धेरैको ज्यान जान सक्ने तर्क उनको छ। ‘धेरै देशका लागि आगामी साता अत्यन्त चुनौतीपूर्ण देखिएका छन्,’ उनले भने। गत सातासम्म कोभ्याक्स सुविधाअन्तर्गत १ अर्ब खोप डोज आपूर्ति गरिएको जनाउँदै उनले खोपको यो मात्रा अझै अपुग रहेको र यसलाई थप बढाउनुपर्ने बताए।
ओमिक्रोन भेरिएन्टको संक्रमण र प्रसारण रोक्न खोप कम प्रभावकारी भए पनि खोपले गम्भीर बिरामी हुनबाट र मृत्युबाट जोगाउने देखिएको उनले बताए। ओमिक्रोन संक्रमणको बढ्दो प्रसारणले भाइरसको नयाँ भेरिएन्ट विकास हुन सक्ने भएकाले कोरोना महामारीको तत्काल अन्त्य हुने सम्भावना कम रहेको उनले बताए। उनले खोपको असमान वितरण पनि कोरोना नियन्त्रणमा चुनौती भएको जनाए। नागरिक दैनिकबाट