Logo

हुम्लामा हिमपातः जनजीवन कष्टकर



हुम्ला, ७ माघ: हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो ।

आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिका–८ लिमिमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सदरमुकाम सिमकोटस्थित हवाइसेवा पनि प्रभावित बनेको छ ।

मौसममा आएको परिवर्तनसँगै आजदेखि निकै चिसो बढेपछि यहाँका बासिन्दा बाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाइ छ । चिसोबाट बच्न त्यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्