Logo

प्रचण्डको रणनीति देउवाले मान्लान् ?



काठमाडौं, ९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा पुगी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुलेर प्रशंशा गरे । उनले प्रचण्डले नै संविधानसभाको एजेन्डालाई पूरा गरेर देशको राजनीतिक प्रणाली परिवर्तन गरेको बोले । प्रचण्डलाई राजनीतिक परिवर्तनको नायक जसरी व्याख्या गरे ।

प्रचण्डले पनि आफूले धेरैलाई प्रधानमन्त्री बनाइसकेको बताउने गरेका छन् । उनले आफूले नै अहिलेको राजनीतिक परिवर्तन ल्याएको बताउँदै आएका छन् । यतिसम्मकी अहिलेको सत्ता गठबन्धन निर्माणमा पनि आफू नै मुख्य भएको बताइरहेका छन्।

प्रचण्डले भनेजस्तै सत्ता गठबन्धनमा उनकै रणनीति चल्ने गरेको छ । पछिल्लो समय चुनावको घोषणालाई रोक्ने पनि उनकै रणनीति हो । स्थानीय निकायको निर्वाचन धकेलेर प्रतिनिधिसभाको चुनाव गर्न प्रचण्डले प्रस्ताव गरेका छन् । विकल्पमा तीन तहको चुनाव कात्तिकमा गर्ने रणनीतिमा प्रचण्ड छन् ।

प्रचण्डको यही रणनीति अनुसार स्थानीय निकाय निर्वाचन ऐन संशोधन गरेर भएपनि चुनाव सार्ने तयारी भएको छ । यसका लागि कानून व्यवसायीसँग गठबन्धनले परामर्श गरिसकेका छन् ।

प्रतिनिधि सभाको चुनाव पहिले वा स्थानीय चुनावको साथ गरेर प्रचण्ड गठबन्धनबीच तालमेल गराउन चाहन्छन् । नेकपा एमालेलाई चुनावी धक्का दिने प्रचण्डको रणनीति छ । यही रणनीतिलाई देउवाले अस्वीकार गर्न सक्ने सम्भावना कम छ । स्थानीय चुनाव संविधान अनुसार तोकिएको समयमै गर्ने देउवाको चाहना छ । तर, प्रचण्डको चाहनालाई देउवाले बेवास्ता गर्ने सम्भावना कम छ ।

२०७४ सालको स्थानीय चुनावमा पनि देउवा प्रचण्डसँग मिलेर बढेका थिए । प्रचण्डको रणनीति अनुसार चलेर भरतपुर महानगरपालिकामा रेनु दाहालका लागि काँग्रेस उम्मेदवारलाई मैदान खाली गर्न लगाएका थिए । तर, प्रचण्डले प्रतिनिधि सभा चुनावमा ओलीसँग मिलेर छक्क पारिदिए । यसपटक प्रचण्डले तालमेलको रणनीति बनाएका छन् । यसमा देउवा तयार हुने सम्भावना देखिदै गएको छ ।

देउवालाई पार्टीभित्र प्रचण्डको हरेक कदमलाई साथ नदिन दबाब बढेको छ । राष्ट्रियसभा निर्वाचनपछि चुनावी तालमेल नगर्न शेखर कोइराला समूहले दबाब बढाइरहेको छ । तर, अहिलेको चुनावी प्रणाली कुनै एक दलले जित हासिल गर्न नसक्ने खालको भएको भन्दै देउवा मिलेरै जाने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्