काठमाडौं, १० माघ । अपराधिक अभिव्यक्तिको कारण विवादमा मुछिएकी भौतिक, पुर्वाधार तथा यातायात मन्त्री रेणु
कुमारी यादवले आफ्नो अभिव्यक्तिलाई लिएर केही भ्रम फैलिएको भन्दै दुःख व्यक्त गरेकी छिन् । आज एक विज्ञप्ती जारी गर्दै मन्त्री यादवले उक्त वक्तव्यलाई अतिरञ्जित नगर्न पनि सञ्चारमाधयमहरुलाई आग्रह गरेकी हुन् ।
‘‘हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ ले रौतहटस्थित गौरमा श्रद्धान्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पुर्वाग्रह वा दुरासयपुर्ण मानसिकताबाट नभई मुठभेड नर्गन वा हुन नदिन, कुनै पनि हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपुर्ण विधिप्रक्रियाबाटै राजनीतिक गतिरोध गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्धारा कुसैकसैले पुर्वाग्रहपुर्ण ढंगले आ–आफ्नो तरिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उनले आफ्नो अभिव्यक्ति व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको पनि विज्ञप्ती मार्फत स्पष्ट पारेकी छिन् । उनले यस विषयलाई सामान्य रुपमा लिन र आगामी दिनमा यसप्रति सचेत रहने पनि प्रतिवद्धता गरेकी छिन् ।
जनमत पार्टीका अध्यक्ष सिके राउतविरूद्ध लक्षित भाषण गर्दै मन्त्री यादवले गौर हत्याकाण्ड दोहोरिन सक्ने धम्की दिएकी थिइन्। राउतका कार्यकर्ताले आफूलाई अवरोध गर्न खोजेपछि मन्त्री यादवले आक्रोशपूर्ण भाषण गर्दै राउतलाई धम्की दिएकी थिइन्।