बाँके, माघ ११ । नेपालगञ्जको जमुनाहा नाकामा मानव बेचबिखनविरुद्धमा काम गर्ने संघसंस्थाको ओइरो लागेको छ ।
भन्सार कार्यालयदेखि जमुनाहा नाकासम्मको करिब एक किलोमिटरमा आठवटा संघसंस्थाले चेकजाँच गर्ने गरेका छन् । मानव बेचबिखनको चलनचल्तीको नाका मानिने जमुनाहामा बेचबिखनविरुद्ध काम गर्ने जिल्लाका सबै संघसंस्थाले चेक प्वाइन्ट राखेका छन् ।
सबै संघसंस्थाले नाकामा उपस्थिति जनाए पनि खोजतलास तथा जोखिममा परेकाले दिने गरेको बयानमा यही नाकाबाट भारत पुगेको वा भारत हुँदै तेस्रो मुलुक पुगेको बताउने गर्दछन् । मानव बेचबिखनविरुद्धको मुद्दा संघसंस्थाका लागि बिकाउ बनेकाले नाकामा अनावश्यक प्रतिस्पर्धा देखिएको छ ।
बेचबिखनविरुद्ध काम गर्दा ‘डोनर’ले पत्याउने र नाकामा एउटा चेक प्वाइन्ट राखेर काम गरेकोजस्तो देखाउने गरिएको छ । नाकामा सबै संघसंस्थाको चेक प्वाइन्ट हुनु अनि यही नाकाबाट महिला तथा बालबालिका जोखिमपूर्ण यात्रामा बढी निस्किनुले संघसंस्थाले खाली डोनरलाई खुसी बनाउन नाकामा बसेकोजस्तो देखिन्छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मानव बेचबिखनविरुद्धको जिल्ला समितिले केही वर्षअघि नेपालगञ्ज नाकामा दुईवटा संघसंस्था बस्ने र अरू अन्य नाकामा जाने निर्णय गरेको थियो । त्यसको कार्यान्वयन हुन सकेन । संघसंस्था नेपालगञ्ज नाकालाई छोड्नै मानेनन् । नेपाल समाचारपत्र दैनिकबाट