Logo

२० लाख विद्यार्थीले खोप लगाए, अझै १३ लाख खोप लगाउन बाँकी



काठमाडौं, माघ १३ । सरकारले विद्यालय लक्षित खोप अभियान सञ्चालन गरेको करिब दुई साता पुग्दा अझै १३ लाख विद्यार्थीले खोप लगाउन पाएका छैनन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रको तथ्याङ्अनुसार १२ देखि १७ वर्ष उमेर समूहका करिब ३३ लाख विद्यार्थी रहेका छन् । तीमध्ये हालसम्म करिब ६० प्रतिशत अर्थात झण्डै २० लाख विद्यार्थीले मात्र खोप लगाइसकेका छन् ।

काठमाडौं र ललितपुरमा फाइजर र अन्य जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन भइरहेका छन् । दुई जिल्लामा पुस २७ देखि नौ दिनसम्म अभियान सञ्चालन भएको थियो ।

केन्द्रका महानिर्देशक चुडामणि शर्माले बाँकी विद्यार्थीलाई खोप लगाउन माघ १६ देखि २० गतेसम्म पाँच दिन विद्यालय खोल्ने निर्णय गरेको जानकारी दिँदै भने– ‘छुटेका र लकडाउनका कारण विद्यालय आउन नसकेका विद्यार्थीका लागि खोप अभियान सञ्चालन गर्न विद्यालय खुला गर्ने निर्णय भएको छ ।’ उनका अनुसार उपत्यकामा खोप लगाउन बाँकी विद्यार्थीको संख्या न्यून छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरी माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्न निर्देशन दिएको थियो । सोही निर्देशनको आधारमा माघ १ गतेदेखि बन्द रहेका विद्यालय ५ दिनको लागि खुला रहनेछन् । त्यसपछि विद्यालय खोल्ने कि नखोल्ने भन्ने सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिसमा सरकारले निर्णय गर्नेछ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्