Logo

मेलम्चीमा सिनो हाइड्रोलाई सेटिङमा ठेक्का



रिपोर्टर्स नेपाल, १३ माघ । मेलम्ची खानेपानी आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई सम्झौता अवधि थप गरेर योजनावद्ध तरिकाले सिधै ठेक्का दिइएको छ । मन्त्रिपरिषदबाट निर्णय गराएर काम गर्न स्वीकृती प्रदान गरेर ठेक्काको मूल्य समायोजन गर्दै काम दिइएको हो ।

ठेक्काको मूल्य समायोजनबाट सिनो हाइड्रोले झण्डै ३२ करोड रुपैयाँ पाउने भएको छ । मन्त्रिपरिषदले ठेक्काको मूल्य समायोजनको स्वीकृती पाएपछि यसरी ठेक्का निरन्तरता भन्दै दिएको हो ।

मन्त्रिपरिषद बैठकबाट विशेष परिस्थिति भन्दै मेलम्चीको ठेक्काको अवधि र मूल्य थप्न स्वीकृती दिएको थियो । पुनः ठेक्का ननिकाली अलमल गर्दै सिनोलाई नै निरन्तरता दिन यसरी योजनावद्ध तरिकाले काम भएको हो । यसमा खानेपानी मन्त्री उमाकान्त चौधरीको स्वार्थ देखिएको छ ।

हेडवक्र्सको काम गर्ने भन्दै अहिले गरिएको भेरिएसनमा ३२ करोड उल्लेख भएपनि त्यो बढाउँदै लाने तयारी समेत भएको छ । यसमा करोडौंको चलखेल भएको छ । सिनो हाइड्रोले नै काम पाउने गरी पहिल्यै सेटिङ भइसकेको थियो । तर, पुनः ठेक्का प्रक्रियामा जाँदा कम दररेटमा कम्पनी जानुपर्ने र कमिशनको रेट पनि घट्ने भएबाट योजनावद्ध तरिकाले पुनः निर्माणको साटो कामलाई निरन्तरता दिने भन्दै चलखेल भएको पाइएको छ ।

मेलम्चीको ढुंगा गिट्टी र माटो जस्ता वस्तु निकाल्न ८० करोड खर्च गर्ने गरी योजना पहिल्यै बनाइएको छ । चरणवद्ध रुपमा भेरिएसन गर्दै यो रकम सिने हाइड्रोको ठेक्काका लागि योजना बनाइएको खुलिसकेको छ । अहिले ३२ करोडको भेरिएसन भएपनि भविष्यमा बढाउँदै लाने गरी तयारी भएको छ ।

मन्त्रिपरिषदबाट निर्णय गराएर स्वीकृती गर्दा अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा नलाग्ने भएकाले बठ्याई गरिएको छ ।

अर्थ मन्त्रालयले दुई महिना अघि नै रकम स्वीकृत गरेपनि ठेक्का निकाल्ने विकल्पहरुलाई बेवास्ता गरिएको थियो । विकल्पमा फाष्ट ट्रयाकमा ठेक्का निकाल्न सकिन्थ्यो । तर, ठेक्का सिधै दिन अलमल गरेर सिने हाइड्रोलाई निरन्तरता दिइएको छ ।

मेलम्चीको पानी अस्थायी रुपमा यसै वर्ष ल्याउने लोकप्रीय प्रधानमन्त्री शेरबहादुर देउवाले ७ माघमा देशवासीका नाममा सम्बोधन गर्दा दिइसकेका छन् । मेलम्चीको बाँधमा १५ मिटरसम्मको संरचना पुरिएको बताइएको छ । २ अर्बको क्षति पुनः निर्माण गर्न कम्तिमा ३ वर्ष लाग्ने अनुमान छ । अस्थायी रुपमा निर्माण गरेर पानी ल्याउने तयारी अन्तर्गत डेढ अर्बको बजेट स्वीकृत गरी काम गर्न खोजिएको हो । यसका लागि भेरिएसन गर्दै लम्ब्याउने योजना समेत बनाइएको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्