Logo

देश मूठभेडतर्फ, ठूलो संकट आउनसक्ने



काठमाडौं, १५ माघ । राजनीतिक ध्रुवीकरणसँगै देशमा मूठभेडको खतरा बढेको छ । सत्ता गठबन्धनका ५ दल र विपक्षी समूह आ आफ्नो मोर्चा कस्न थालेका छन् ।

सत्ता गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । गठबन्धनलाई चुनौती दिन नेकपा एमालेले अर्को मोर्चा तयार गरिसकेको छ ।

एमालेले मधेश केन्द्रित दलहरुमा लोकतान्त्रिक समाजवादी पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीसँग सम्बन्ध विकास गरेको छ । लोसपासँग चुनावमा गठबन्धन समेत बनायो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एमालेसँग नजिकिएको छ । यसरी एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई चुनौती दिन समूह तयार गरिसकेका छन् ।

एमालेले स्थानीय निर्वाचन वैशाखभित्र गर्नुपर्ने माग गर्दै आएको छ । गठबन्धन निर्वाचनसम्बन्धी कानून सशोधन गरेर मंसिरपछि मात्र चुनाव गर्न खोजिरहेको छ । यसको विरोधमा एमाले उत्रन थालिसकेको छ । उसले सडक संघर्षको चेतावनी दिएको छ ।

चुनाव पछि धकेल्ने सत्ता गठबन्धनको रणनीतिमा एमालेसहित निकट दलहरु विरोधमा उत्रने तयारीमा छन् । यसले देशमा राजनीतिक मूठभेडको सम्भावना बढाएको छ ।

मुख्य दलहरुबीचको ध्रुवीकरणसँगै सम्भावित टकरावले ठूलो संकटको सम्भावना बढाएको छ । संविधान बमोजिम समयमै चुनाव नहुँदा ऐन संशोधनबाट मिलाउन खोजेपनि अदालतको फैसलामा भर पर्ने अवस्था हुन्छ । विगतमा केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन दुईपटक गरेपनि अदालतको फैसलाले निर्णय उल्टिएन मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी भयो । विगत घटनाले पनि संविधान बमोजिम समयमै चुनाव नगर्ने हो भने ठूलै राजनीतिक संकटको सम्भावना देखिनथालेको छ ।



प्रतिक्रिया दिनुहोस्