काठडमाडौं, १६ माघ । मोरङको उखुबारीमा हत्या गरी गाडिएको अवस्थामा फेला परेका राजेन्द्रकुमार श्रेष्ठ र शम्भु चौधरी जग्गा कारोबारी थिए । उनीहरुले विभिन्न स्थानमा प्लटिङ गर्दै जग्गा विक्री गर्ने गरेका थिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट दुवैको हत्या जग्गा कारोबारका क्रममा आर्थिक लेनदेनमा विवाद भई हतया भएको हुनसक्ने पत्ता लगाएको छ । प्रहरीको विश्वस्त स्रोतले बताए अनुसार आर्थिक लेनदेनको कोणबाट अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।
४९ वर्षीय श्रेष्ठले साझेदारमा झापामा १८ बिघामा प्लटिङ गर्दै आएका थिए । उनी मंसिरको अन्तिम साता झापा पुगेका थिए । त्यहाँ विवाद भएको भन्दै श्रेष्ठले परिवारलाई जानकारी दिएको खुलेको छ । तर, झण्डै एक महिना हराउँदा पनि परिवारले खोजखबर नगर्नुमा उनी विगतमा पनि महिनौं सम्पर्कमा नरहेर जग्गा कारोबारमा लाग्नु रहेको बुझिएको छ ।
शम्भु कोइराला सप्तरीको शम्भुनाथ नगरपालिका घर भई काठमाडौंमा बस्दै आएका थिए । श्रेष्ठ पनि सुनसरीको धरान नगरपालिका घर भई भक्तपुर बस्दै आएका थिए । दुवै एक महिना अघि साथमै पूर्वतिर पुगेको खुलेको छ ।
श्रेष्ठ र चौधरीको शव ३० मिटरको फरकमा उखुबारीमा भेटिएको थियो । चौधरीको पहिचान भने ढिलो भयो । श्रेष्ठको लाइसेन्सको आधारमा शव भेटिएलगत्तै पहिचान भएको थियो । दुवैको शव आफन्तले सनाखत गरिसकेका छन् ।
हत्या गरिएका श्रेष्ठ र चौधरीको घाँटीमा डोरीका डाम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई यातनापछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी अभियुक्तको नजिक पुगिसकेको बुझिएको छ । ठोस प्रमाणका आधारमा अभियुक्तलाई पक्राउ गर्ने प्रहरी सक्रिय रहेको बुझिएको छ ।