एजेन्सी, १७ माघ। इजिप्टको एक अदालतले प्रतिबन्धित मुस्लिम ब्रदरहुड समुहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुले इजिप्ट प्रहरीमाथि हमलाको योजना बनाएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो ।
सोही अभियोगमा गत बर्ष पक्राउ परेका ९ जना हिरासतमा छन् भने एक जनालाई हालै पक्राउ गरिएको हो । उनीहरुले हेल्वान ब्रिग्रेड्स नामक समुह बनाई प्रहरीलाई आक्रमण गरी सरकारलाई असफल बनाउने योजना बनाएको आरोपमा सजाय सुनाइएको हो ।
इजिप्ट विश्वमा सर्वाधिक मृत्युदण्डको सजाय दिने मुलुकमध्ये तेश्रो स्थानमा छ । चीन र इरानपछि इजिप्ट मृत्युदण्डको सजाय बढी दिने मुलुकको रुपमा परिचित छ ।एमनेस्टी इन्टरनेशनलका अनुृसार इजिप्टमा गत बर्षमात्रै सय भन्दा बढीलाई मृत्युदण्ड दिएको थियो ।-Photo: aljazeera