काठमाडौं, माघ १८। कोरोना महामारीको तेस्रो लहर विस्तारै मत्थर बन्दै जान थालेको छ । तीव्र गतिमा फैलिएको कोरोना संक्रमण तीन दिनयता ओरोलो झरेको छ ।
माघको पहिलो सातादेखि अत्यधिक मात्रामा फैलिएको कोरोना संक्रमण ८ माघमा २० हजार ८ सय ८७ जनाको नमुना परीक्षण गरेकोमा १० हजार २ सय ५४ जना संक्रमित भएका थिए ।
नमुना परीक्षणमध्ये झन्डै आधामा कोरोना संक्रमण देखिएको थियो । तर, १२ माघ यता कोरोना संक्रमणदर बिस्तारै मत्थर बन्दै जान थालेको छ । १२ माघमा २० हजार ३ सय ५९ जनाको नमुना परीक्षण गर्दा ८ हजार ४ सय १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
१३ माघमा २१ हजार ८ सय ८ जनामा नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण देखियो । जुन अघिल्लो दिनको तुलनामा कम हो । १६ माघसम्म आइपुग्दा १३ हजार १ सय ४५ जनामा परीक्षण गराउँदा ३ हजार ५ सय ४० जनामा संक्रमण देखिएको छ । यो संख्या यो महिनाकै नमुना परीक्षणपछि सबैभन्दा कम संख्या हो ।
कोरोना संक्रमण दर दैनिक अप्रत्याशित ढंगबाट बढेमा अस्पतालमा भर्ना हुने संख्या पनि बढ्न सक्ने आँकलन चिकित्सकहरूले गरेका थिए । तर, माघको दोस्रो साताबाटै कोरोना संक्रमण दर घटेको छ ।
स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्रका अनुसार गत साताको तुलनामा यो साता कोरोना संक्रमणको औसत दरमा कमी आएको छ । पछिल्लो हप्ताको तुलनामा संक्रमण दर ५ दशमलव ६ प्रतिशतले घटेको छ । राजधानी दैनिकबाट