काठमाडौँ, १८ माघ। कोरोनाविरद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल ल्याइएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए । सरकारले कोभ्याक्समार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने जनाएको थियो । त्यसमध्ये १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ ।
यो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने चौरासियाले बताए । सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिन थप खोपहरु पनि ल्याउँदैछ । कोभ्याक्स सुविधामार्फत नै थप ६२ लाख मात्रा खोप अनुदानमा ल्याउने प्रक्रिया पनि अघि बढिसकेको छ । यस्तै ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउन फाइजर खोप ८४ लाख मात्रा खरिद गर्ने सरकारको तयारी छ ।-Photo: Agency