Logo

एमसीसीले माओवादी विभाजन हुनसक्ने



काठमाडौं, १८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको महाधिवेशनमा स्पष्टसँग यथास्थितिमा एमसीसी पारित नहुने प्रष्ट पारेका थिए । उनले आफ्नो राजनीतिक प्रतिवेदनमा समेत अमेरिकाको आलोचना गर्दै सैन्य रणनीतिको विषय उठाएका थिए ।
प्रचण्डले एमसीसीको विपक्षमा स्पष्ट अभिव्यक्ति दिएपनि प्रधानमन्त्री शेरबहादुर देउवा पारित गरिछाड्ने अडानमा छन् । उनले केही दिनभित्रै प्रचण्डलाई निर्णय लिन समय दिएको बुझिएको छ ।

प्रचण्डका लागि अब एमसीसीको विपक्षमा गए गठबन्धन भत्कने चुनौती तेर्सिएको छ । एमसीसीको पक्षमा जाँदा पार्टीभित्र विद्रोहको खतरा समेत छ । त्यसैले प्रचण्ड सकभर एमसीसीलाई केही संशोधनमा लगेर पारित गर्ने पक्षमा जाने प्रयासमा रहेको बुझिएको छ ।

एमसीसीको पक्षमा जाँदा प्रचण्डलाई माओवादीका कतिपय सांसदहरुले साथ नदिने सम्भावना पनि नभएको होइन । यसले माओवादीमा अर्को विभाजनको खतरा समेत देखिइसकेको छ । नारायणकाजी श्रेष्ठले एमसीसीको विरोधमा बोलिसकेका छन् । कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ्गलगायत हस्ती नेताहरु एमसीसीको विपक्षमा छन् ।

प्रचण्डले एमसीसीको पक्ष लिए ठूलै जोखिम मोल्नुपर्छ या पार्टीभित्र नेताहरुलाई मिलाउन सक्नुपर्छ । यसकारण पनि पार्टीभित्र सहमति नगरी प्रचण्ड अगाडि बढ्ने सम्भावना छैन ।

एमसीसीको विपक्षमा उभिएमा गठबन्धन तोडिने निश्चितप्रायः छ । त्यतिबेला देउवाले केपी शर्मा ओलीसँग हात मिलाउन सक्छन् । यो घटनाले सभामुख अग्निप्रसाद सापकोटाको पद नै धरापमा पर्न सक्छ । ओलीले सभामुखबाट सापकोटालाई हटाउन तयार भएमा एमसीसीको पक्षमा उभिने सन्देश देउवालाई पठाइसकेको बुझिएको छ ।

अब एमसीसीबारे प्रचण्डलाई ठूलै निर्णय लिनुपर्ने अवस्था छ । उनले एमसीसीको विपक्षमा उभिएर गठबन्धन तोडिए तोडियोस् भन्नुपर्ने स्थिति छ । या गठबन्धन जोगाउन एमसीसी पारित गर्नुपर्ने पक्षमा जानुपर्छ जुन सजिलो छैन । यसकारण प्रचण्ड ठूलै राजनीतिक चुनौती झेल्ने अवस्थामा छन् । यसले उनको पार्टीलाई विभाजनतर्फ समेत धकेल्ने सम्भावना बढेको छ । गठबन्धन जोगाउन एमसीसी रोज्ने कि माओवादी विभाजन रोक्ने सम्मको मोडमा प्रचण्ड पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्