काठमाडौं, १८ माघ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा झन् शक्तिशाली भएका छन् । शक्ति बढेसँगै देउवा आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् ।
काँग्रेसको १४औं महाधिवेशनमा सभापति निर्वाचित भएपछि देउवाले सरकार सञ्चालनमा आक्रामक रणनीतिहरु अपनाउन थालेका छन् । उनले थाती रहेको एमसीसी सम्झौता संसदबाट पारित गर्ने अडान लिइसकेका छन् ।
देउवाले एमसीसी पारित गर्न सबै राजनीतिक विकल्पमा कुराकानी बढाइसकेका छन् । सत्ता गठबन्धन तोडेर भएपनि एमसीसी पारित गर्ने उनको रणनीति देखिइसकेको छ ।
देउवा विगतमा कडा कदम चाल्न अलमलिन्थे । पछिल्लो समय उनी हतारिनथालेका छन् । शक्तिशाली बन्दै जानुले देउवामा त्यस्तो व्यवहार देखिएको हो ।
विगतमा केपी शर्मा ओली र प्रचण्डका सामु देउवा फितलो देखिएका थिए । ओली र प्रचण्डको फुटबाट देउवा बलियो भए । प्रचण्ड र माधवकुमार नेपालको साथले प्रधानमन्त्री भए । एमाले फुट्यो । माधव नेपालले एमाले छाड्दाको फाइदा देउवालाई नै पुग्यो ।
प्रचण्ड र माधव नेपाल स्थानीय चुनाव पछि धकेल्न खोजिरहेका थिए । दुवैले देउवामाथि दबाब बढाए । तर, संविधान अनुसार नै चुनाव तोकिएको समयमा गर्ने अडानका साथ देउवा अगाडि सरे । उनले प्रचण्ड र माधव नेपाललाई धक्का दिए ।
विगतमा ओली हटाउन प्रचण्ड र माधव नेपाल देउवानिवासमा पटक पटक पुगेका थिए । प्रधानमन्त्रीको प्रस्ताव राखेका थिए । अहिले ओली देउवालाई एकल सरकार चलाउन प्रस्ताव गरिरहेका छन् । सत्ता गठबन्धन तोडेमा एमाले देउवाको एकल सरकारलाई मान्न तयार समेत रहने प्रस्ताव गरिरहेको छ । यसमा एमसीसीबारे समर्थन या विरोधले निर्धारण गर्ने अवस्था बनेको छ ।
राजनीतिक घटनाक्रमले देउवालाई नै बलियो बनाइरहेको छ । उनलाई विगतमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्रीको प्रस्ताव लिएर पुग्ने गर्थे । अहिले ओली गठबन्धन तोडेमा काँग्रेसको एकल सरकार चलाउन साथ दिने प्रस्ताव गर्न थालेका छन् । यसबीच देउवाको दुवै हातमा लड्डु भएको छ ।
पार्टीभित्र दुई तिहाई केन्द्रीय सदस्यसहित वर्चश्व बनाएका देउवा सरकारमा पनि बलियो बन्दै गएका छन् । नेकपा विभाजन, त्यसपछि एमाले विभाजन अनि जसपा विभाजनको फाइदा देउवालाई नै पुगेको छ ।