काठमाडौं, २० माघ । मोरङको उखुबारीमा गाडिएको अवस्थामा फेला परेका राजेन्द्रकुमार श्रेष्ठ र शम्भु चौधरीको हत्या गरेको निष्कर्षमा प्रहरी पुगिसकेको छ । उनीहरुलाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रारम्भिक अनुमान छ । तर, हत्या कहाँ र कस्ले गर्यो भन्ने अझै पत्ता लाग्न सकेको छैन ।
१३ माघमा श्रेष्ठको र १४ माघमा चौधरीको शव निकालिएको थियो । शव भेटिएको केही दिन अघि नै हत्या गरी गाडिएको खुलिसकेको छ । शव पत्ता लागेको एक हप्तामा पनि हत्या गरिएको स्थानबारे प्रहरी गहिरो अनुसन्धानमै जुटेको छ ।
प्रहरीले श्रेष्ठ र चौधरीको कल डिटेल देखि सम्पर्क व्यक्तिहरुलाई लक्षित गरी अनुसन्धान गरिरहेको बुझिएको छ । दुवैजना जग्गा काराबारी भएकाले त्यससँग सम्बन्धित र सम्पर्कमा रहेका, लेनदेन भएकाहरुतर्फ अनुसन्धानको सुई घुमाएको बुझिएको छ । तर, अनुसन्धान गर्दै जाँदा घटना झन् रहस्यमय बनेको प्रहरी स्रोतले बताएको छ । तर, केही दिनमै हत्याका अभियुक्त पत्ता लगाउनेमा प्रहरी ढुक्क छ । हत्यामा तीनभन्दा बढी व्यक्ति संलग्न भएको आधारमा अनुसन्धान बढाइएको बुझिएको छ ।
श्रेष्ठ र चौधरीलाई चरम यातना दिई हत्या गरिएको शवको प्रकृतिबाट प्रहरीले पत्ता लगाएको छ । यातना किन र कस्ले दियो ? रहस्यमय भएपनि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान बढाएको छ । तालिमप्राप्त कुकुरको प्रयोग समेत भइरहेको छ । यसबाट प्रहरी अभियुक्तको नजिक पुगिसकेको बुझिएको छ ।
श्रेष्ठ र चौधरीले विभिन्न स्थानमा प्लटिङ गर्दै जग्गा विक्री गर्ने गरेका थिए । जग्गा कारोबारका क्रममा आर्थिक लेनदेनमा विवाद भई हत्या भएको हुनसक्ने क्लुका आधारमा प्रहरी बढेको छ ।
४९ वर्षीय श्रेष्ठले साझेदारमा झापामा १८ बिघामा प्लटिङ गर्दै आएका थिए । उनी मंसिरको अन्तिम साता झापा पुगेका थिए । त्यहाँ विवाद भएको भन्दै श्रेष्ठले परिवारलाई जानकारी दिएको खुलेको छ । तर, झण्डै एक महिना हराउँदा पनि परिवारले खोजखबर नगर्नुमा उनी विगतमा पनि महिनौं सम्पर्कमा नरहेर जग्गा कारोबारमा लाग्नु रहेको बुझिएको छ ।
शम्भु चौधरी सप्तरीको शम्भुनाथ नगरपालिका घर भई काठमाडौंमा बस्दै आएका थिए । श्रेष्ठ पनि सुनसरीको धरान नगरपालिका घर भई भक्तपुर बस्दै आएका थिए । दुवै एक महिना अघि साथमै पूर्वतिर पुगेको खुलेको छ । श्रेष्ठ र चौधरीको शव ३० मिटरको फरकमा उखुबारीमा भेटिएको थियो । चौधरीको पहिचान भने ढिलो भयो । श्रेष्ठको लाइसेन्सको आधारमा शव भेटिएलगत्तै पहिचान भएको थियो । दुवैको शव आफन्तले सनाखत गरिसकेका छन् ।