Logo

कामविहीन बने अनुसन्धान केन्द्र



काठमाडौं, माघ २२ । विज्ञान प्रविधिबारे अनुसन्धान र नवीनतम् आविष्कार गर्न स्थापित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) यतिबेला थला परेको छ ।

रिकास्टमा १४ जना प्राध्यापक कार्यरत छन् । कार्यकारी निर्देशकदेखि प्राध्यापकसमेत कार्यालय छिर्नासाथ कस्तो अनुसन्धान गर्ने र अनुसन्धानका लागि स्रोत कसरी जुटाउने भन्नेमा चिन्तित हुन्छन् ।

रिकास्टका कार्यकारी निर्देशक डा रामनाथप्रसाद यादवले भने, “विश्वविद्यालयबाट सहयोग नहुँदा कार्यालय बेवारिसे बनेको छ ।” उनका अनुसार विश्वविद्यालयले रिकास्टका प्राध्यापक तथा कर्मचारीलाई तलबबाहेक अनुसन्धानका लागि बजेट दिएकै छैन ।

“विश्वविद्यालयका पदाधिकारीले अनुसन्धानबारे कहिल्यै चासो राख्नुहुन्न,” उनले थपे, “दैनिक हाजिर गर्छौं, गफगाफ गर्छौं र घर फर्किन्छौँ ।” विश्वविद्यालयअन्तर्गतकै नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)को अवस्था पनि रिकास्टभन्दा फरक छैन सिनासलाई पनि विश्वविद्यालयले अनुसन्धानका लागि बजेट उपलब्ध गराएको छैन ।

सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्रकुमार कार्कीले विभिन्न संस्थासँग सहकार्य गरेर अनुसन्धानका लागि केही बजेट जुटाए पनि पर्याप्त नभएको गुनासो गरे। विश्वविद्यालयअन्तर्गत अहिले चार अनुसन्धान केन्द्र छन् ।

सबैको हालत करिब उस्तै छ । विश्वविद्यालयकै आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)मा पनि पर्याप्त बजेट अभावकै कारण प्रभावकारी अनुसन्धान हुन नसकेको त्यहाँका अधिकारी बताउँछन् ।

यी अनुसन्धान निकाय विश्वविद्यालयको प्राथमिकतामा नपर्दा सक्नेले अन्यत्रबाटै बजेट खोजेर काम गर्ने र नसक्नेले हात बाँधेर बस्नुपर्ने अवस्था छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्