एजेन्सी, २२ माघ। सन् १९९३ मा मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोट मामिलामा २९ वर्षदेखि फरार रहेका मोस्ट वान्टेड आतंकवादी अबु बकर पक्राउ परेका छन् । उनी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका हुन् । अबु बकरलाई झण्डै ३० वर्षपछि भारतीय सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ गरिएको हो । दाउद इब्राहिमको निकट सहयोगी मानिने उनी मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोटका प्रमुख योजनाकार रहको जनाइएको छ ।
विष्फोटमा २ सय ५७ जनाको मृत्यु हुनुका साथै ७ सय १३ जना घाइते भएका थिए ।पाकिस्तान र यूएईमा बस्दै आएका अबु बकरलाई सन् १९९७ मा पक्राउ गर्न भारतले रेड कर्नर नोटिस जारी गरेको थियो । उनलाई भारत सुपुर्दगी गर्ने तयारी गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । अबु बक्रकाे पूरा नाम अबु बक्र अब्दुल गफुर शेख हो । उनको नाम तस्करी मुद्दामा मोहम्मद र मुस्तफा दोसासँग पनि जोडिएको छ। दुवै दाउद इब्राहिमका विशेष थिए ।-Photo Source: PTI