सपना सपना सारै नराम्रो देखे,
आँखो फुर्फुराउँदै थ्यो फोन गरे घरमा सबेरै !
सबै ठिकै छ ?
“रातभरी कुकुर रोयो, धारा मुनी,
सुकेको मेलको बोटमा कागले गुँड लाको छ !”
अनि बा ? “गाई किन्न जानु भा छ बाछी दिने !
भाको ले वर मात्र दियो, जोतिन जानै परो,
पारि पारि बाँझो खेत !
थलो नै सुन्ने लाग्छ तँ
नहुँदा आँगन जस्तै” काका खै त ?
“मलामी ! माथि मझघर्नि आमैको !
पहेले लाग्या थ्यो ! पहेली !
धेरै पहेली छोराले अमेरिकाबाट पठाको ती गहनाहरू
अहँ ! छुटिदैन थियो छालाको रंग सँग !
बचिनन बरै !” छिमेकी गाउँलेहरू ?
“छोरालाई नगरपालिकामा जागिर लैदिन्छन रे मेयरले !
कसरी बाँचेकी छे सोधुन नसोधुन, कसरी मरी ?
सोध्न छुटाएनन !” “गाउँलेहरू नि जाति नै हुन !
हरीया चोया बाँस बोक्न काँध दिहाल्छन,
ढलेपछि ! धेरै माथि नि जान दिँदैनन
पछारिन्छन बचेकाहरू भनेर !”
तिम्लाई कस्तो छ आमा ?
“बाढी आयो खहरेमा पारि गकि थे नुन लिन,
तर्न खोज्दा रूमलिएछु दहमा तर आश्चर्य डुब्दै डुबिन,
दुरुस्तै लास जस्तो !
कति दुब्लाएछु शरीरको तौल नै छैन,
केवल सास र आसको मात्र”
– आशिष खनाल लालिगुरास बाटिका स्कुल,कोटेश्वर