काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे निर्णायक वार्ता गर्ने भएका छन् । उनले आज अपरान्ह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका हुन् ।
देउवाले प्रचण्ड र ओलीसँग एमसीसी सर्वसम्मतबाट पारित गर्नेबारे छलफल गर्ने भएका हुन् । बालुवाटार स्रोतका अनुसार आजको भेटमा एमसीसी पारित गर्न साथ दिन देउवाले आग्रह गर्नेछन् । उनको यो आग्रह निर्णायक हुनसक्ने बुझिएको छ ।
एमसीसी पारित गर्न देउवा अगाडि बढिसकेका छन् । प्रचण्डले संशोधनमा जोड दिएका छन् । ओलीले भने सत्ता गठबन्धन तोडिएमा एमसीसीको पक्षमा आफूलाई प्रस्तुत गर्ने रणनीति बनाएका छन् ।
एमसीसी १६ फागुनभित्र टुंगो लगाउन अमेरिकाले समयसीमा दिएको छ । प्रचण्डले देउवासँग संयुक्त पत्र लेखेर अमेरिकालाई २९ सेप्टेम्बर २०२१ मा ५ महिनाको समयसीमा दिन आग्रह गरेका थिए । यो समयसीमा २८ फेब्रुअरीमा सकिदैछ ।