एजेन्सी, २३ माघ । भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । लता मंगेशकरलाई जनवरी ८ मा कोरोना र निमोनियाका कारण मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले अन्तिम सास फेरेकी थिइन् ।
‘भारतरत्न’ लता मंगेशकरको निधनले भारतसँगै पाकिस्तानमा पनि शोक मनाइएको छ । पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाद चौधरी, विपक्षी नेता शाहबाज शरीफलगायत धेरै फ्यानले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर लता मंगेशकरको निधनप्रति शोक व्यक्त गरेका छन् र श्रद्धाञ्जली अर्पण गरेका छन्।
मन्त्री फवादले ट्वीट गर्दै लताको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पोस्ट सेयर गर्दै फवादले लेखेका छन्, ‘अब महान व्यक्तित्व रहेन । लता मंगेशकर दशकौंसम्म संगीत जगतमा राज गरिरहनु भएको थियो । संगीत संसारमा उहाँ जस्तो कोही थिएन। उनको आवाजले आगामी दिनमा पनि जनताको मनमा राज गरिरहनेछ ।’
त्यस्तै, विपक्षी दलका नेता शाहबाज शरीफले पनि दुःख व्यक्त गरेका छन् । शाहबाजले लेखेका छन्, ‘लता मंगेशकरको निधनले संगीतको दुनियाँले आफ्नो सुमधुर आवाजले पुस्तालाई मंत्रमुग्ध गर्ने गायिका गुमाएको छ । मेरो पुस्ताका मानिसहरू उहाँका सुन्दर गीतहरू सुन्दै हुर्केका छन्, जुन सधैं हाम्रो सम्झनाको हिस्सा रहनेछ। उहाँको आत्माले शान्ति पाओस्।’