कास्की, २३ माघ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे जनतामा भ्रम छरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशसमितिको कार्यालय उद्घाटन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उनले भने,’मैले गठबन्धनमै प्रचण्ड र माधवजीलाई भनेको छु । यो एमसीसी किन गिजोल्नुभयो ? जनतालाई गलत सूचना दिएर एमसीसीबारे भ्रमित पार्ने काम उहाँहरुबाटै भएको छ। ‘ उनले एमसीसीबारे जनतालाई कन्भिन्स गराउनुपर्ने बताए । ‘मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । सधै विदेशीको ऋण लिएर हुँदैन । ऋण तिर्न नसक्दा श्रीलंकाको हालत के भएको छ ? त्यसैले एमसीसी अनुदान लिनुपर्छ’, पौडेलले भने ।