काठमाडौं, २३ माघ। नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न खोजेको हो भने त्यो कदम राष्ट्रघाती ठहरिने बताएका छन् । उनले भने,‘यदि उहाँ एमसीसी पारित गर्न तयार हुनुभएको हो भने त्यो राष्ट्रिय हितविपरितको काम हो । उहाँले राष्ट्रप्रतिको दायित्व निर्वाह नगरेको ठहरिन्छ। र, देशको प्रधानमन्त्री भएर, उहाँको पहिलो कर्तव्य भनेको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, अखण्डता, राष्ट्रको हित र प्रतिष्ठाको संरक्षण गर्ने हो । उहाँले गठबन्धनको न्यूनतम साझा कार्यक्रममा पनि यो एमसीसीको कुरै छैन् । उहाँले यसरी बैठक बोलाएर यसो गर्नु धेरै आपत्तिको कुरा हो ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री देउवालाई प्रश्न गरे–‘तपाईँ कुनै विदेशीको अगाडि झुक्नको लागि प्रधानमन्त्री भएको हो कि ? देशव्यापी रुपमा देशभक्त नेपालीहरुले उठाएको आवाज, हाम्रो स्वाधिनता, अखण्डता, राष्ट्रिय एकताको पक्षमा जनताले दिएको दबाब, गलत प्रावधान हटाउने दबाब चाहीँ दबाब नहुने ? अनि अमेरिकी दबाबकोसामू झुक्नुपर्ने हो र ? यो लाजमर्दो विषय हो ।’