काठमाडौं, २४ माघ । कोरोना भाइरसको संक्रमण तिव्ररुपमा बढ्दै गएपछि बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा आइतबार बसेको उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बैठकले विद्यालय आइतबारदेखि खोल्ने अनुमति दिने निर्णय गरेको हो ।
प्रशासनले सञ्चालन गर्ने निर्णय दिएसँगै विद्यालयहरु फागुन १ गतेदेखि सञ्चालन गर्ने तयारीमा जुटेका छन् । विश्वविद्यालय, विद्यालय, कलेज, ट्यसन सेन्टर, तालिम, वा अन्य प्रकारका शैक्षिक क्रुयाकलापहरु जनस्वास्थ्यको मापदण्ड पालन गरी अब सञ्चालन गर्न पाउने भएका छन् ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएको हकमा र १२ वर्ष नपुगेका विद्यार्थीको हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानिय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपला वा सिफ्ट प्रणालीमा सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ ।
त्यस्तै, सबै प्रकारका परीक्षाहरु स्वास्थ्य मापदण्डको पुर्ण पालना गरी गराई जेड आकारमा सिट व्यवस्थापन गरी फागुन १ गतेबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।