काठमाडौ, २५ माघ । बलेफी हाइड्रोपावर लिमिटेडले बिहीबार माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्ने भएको छ ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं। २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ ।
बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं. ७ का स्थानीयलाई छुट्याइएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले बलेफीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकको जिम्मा दिएको छ ।