काठमाडौं, २६ माघ । स्थानीय चुनावबारे सत्तारुढ गठबन्धन जनता समाजवादी पार्टीकै जनप्रतिनिधिले रिट निवेदन लिएर सर्वोच्च अदालत पुगे । भंगहाका नगरपालिकाका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ । आज साहले ३० वैशाखमा निर्वाचन गर्दा आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भएको भन्दै कानूनी प्रश्न उठाउँदै मुद्दा दायर गरेका थिए ।
सर्वोच्चले उक्त रिट निवेदन दर्ताका लागि योग्य नै नभएके निष्कर्षसहित दरपीठको आदेश दिएको छ । रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरेको निवेदनमा साहले आफू ७ असोज २०७४ मा निर्वाचित भएको र कार्यकाल ६ असोज २०७९ मा सकिने भन्दै पाँच वर्ष कार्यकाल पूरा गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।