काठमाडौं, २७ माघ । आईटीएफ वल्ड जुनियर टेनिस प्रतियोगितामा सहभागीता जनाउन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएका छन् ।
फेब्रुअरी १४ देखि १९ तारिखसम्म कोलम्बोमा हुने प्रतियोगितामा सहभागिता जनाउन शुक्रबार कोलम्बो प्रस्थान गर्ने भएका हुन् ।
प्रतियोगिताको पुरुषतर्फ राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र जेनी खड्काले सहभागिता जनाउनेछन् ।
त्यसलगतै कोलम्बोमै फेब्रुअरी २१ देखि २६ सम्म आयोजना हुने जुनियर डेभिस कपको पुरुषतर्फ अकी जुवेन रावत, राजवीर प्रधान र निश्चल कायश्थले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, जुनियर बिली जिन किङ कपमा नेपाली महिला खेलाडी सुनिरा थापा, आइशा डोल्कर गुरुङ र प्रशंसा मोक्तानले सहभागिता जनाउने छन् । टोलीको प्रशिक्षकमा रामेश्वर थापा रहेका छन् ।
टोलीलाई नेपाल टेनिस संघले सातदोबाटोमा एक कार्यक्रमको आयोजना गर्दै बिदाइ गरेको छ ।