Logo

एमसीसी चुनाव अघि नै अनुमोदन गरेर जनतामा जाने काँग्रेसको निर्णय



काठमाडौं, २७ माघ । नेपाली काँग्रेसले अमेरिकी सहयोगसम्बन्धी एमसीसी देशका लागि राम्रो भएको निष्कर्ष निकाल्दै अनुमोदन गर्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठकले चुनाव अघि नै एमसीसी अनुमोदन गरेर यसबारे भ्रम चिर्न जनतामा जाने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिदै पूर्वमहामन्त्री डा. सशांक कोइरालाले एमसीसी नेपालका लागि राम्रो भएकाले अनुमोदन गरेर जनतामा जाने बताए । उनले भने,‘एमसीसी अनुमोदन गरेर यस विषयमा जनतामा छरिएको भ्रम चिर्नुपर्छ ।’

एमसीसी नेपाल र नेपाली जनताका लागि आएको भन्दै यसबारे बुझाउनुपर्ने बताए । एमसीसीविरुद्धको मत कमजोर गर्न भ्रम चिर्ने समेत बताए ।
एमसीसी चुनाव पछाडि मात्र टुंगोमा पुर्याउन सत्ता गठबन्धनका शिर्ष नेताहरु प्रचण्ड र माधव नेपालले प्रस्ताव गरेपछि बसेको काँग्रेस बैठकले समयमै अनुमोदन गरेर जाने निर्णय गरेको हो ।

एमसीसीबारे आजको बैठकमा पूर्वअर्थमन्त्री डा. रामशरण महतले लामो ब्रिफिङ गरेका थिए। उनले एमसीसीबारे फिजाइएको भ्रम र यथार्थबारे समेत उल्लेख गरेका थिए । लामो ब्रिफिङ गरेपछि देउवाले जनताले बुझ्ने गरी छोटोमा लिखित रुपमा बनाएर दिन भनेका थिए ।

आजको बैठकमा एमसीसी अनुमोदन गर्न तत्काल अगाडि बढुनुपर्ने, विकल्पमा जानुपर्ने भए तयार हुनुपर्ने सुझावहरु पनि दिइएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्