काठमाडौं, २८ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीति जटिल अवस्थामा पुग्न लागेको भन्दै यसको लागि राष्ट्रिय सहमतिको आवश्यकत्ता औंल्याएका छन् । पछिल्लो समय एमसीसीलाई लिएर नेपालका राजनीतिक दलहरुको मत विभाजित बनेको र जनमतसमेत विभाजित बनेको बेला दाहालको यस्तो भनाई आएको हो ।
एमसीसीलाई लिएर अमेरिकाले दबाब बढाएपछि दाहाल पनि दबाबमा देखिएका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र दाहालले संयुक्त रुपमा एमसीसीलाई लेखेको पत्र बाहिरिएपछि र एमसीसीले पनि फेब्रुअरी २८ तारिखभित्रै एमसीसीबारे निर्णय लिन भनेपछि दाहाल दबाबमा देखिएका छन् ।
हिजोमात्रै अमेरिकी मन्त्री डोनल्ड लुले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै फोन गरेर एमसीसी सम्झौता संशोधन हुन नसक्ने र तोकिएकै समयसिमा भित्र निर्णय लिन दबाब दिएको कुरा मिडियामा आएको छ।
दाहालसँगको कुराकानीमा त एमसीसी फिर्ता भए चीनको हस्तक्षेप भनेर बुझ्ने र अमेरिकाले नेपालसँगको सम्बन्धबारे पूनरावलोकन गर्ने चेतावनी दिएको पनि कुरा चर्चामा छन् । तर, प्रचण्डको सचिवालयले भने अमेरिकी मन्त्री लुले चीनको नाम नलिएपनि घुमाउरो पारामा चीनलाई नै दोष दिएको उल्लेख गरेको छ ।
एमसीसीलाई चुनावपछिमात्रै अघि बढाउनेबारे दाहालले मुख्य दलका नेताहरुसँग प्रस्ताव पनि गरेका छन् । एक साता बालुवाटारमा भएको प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसँगको भेटमा दाहालले अहिले एमसीसी थाँती राखेर चुनावपछि मात्रै यसलाई अघि बढाऔं भनेर प्रस्ताव राखेका थिए । तर, देउवाले भने अब एमसीसी पास वा फेल जे भएपनि सदनमा पेश गर्नेबारे आफ्नो अडान सुनाएका थिए । ओलीले भने पहिला सत्तापक्षीय गठबन्धनमा एमसीसीबारे एकरुपता हुन जरुरी रहेको र त्यसपछि मात्रै एमालेले आफ्नो धारणा राख्ने बताएका थिए ।
अहिले दाहालले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । कहिले प्रधानमन्त्री देउवासँग छुट्टै छलफल गरेका छन्, त कहिले गठबन्धमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । हिजोमात्रै दाहालले एमाले अध्यक्ष ओलीसँग फोनवार्ता गरेको कुरा छ। त्यसमा एमसीसीबारे एमालेको धारणा मागेका थिए । दाहालले एमसीसीबारे एमालेले छिटो आफ्नो धारणा प्रष्ट पार्नुपर्ने बताएको पनि एमाले नेताहरुले जनाएका छन् ।
दाहालले भने मुलुक गम्भीर संकटतर्फ जानसक्ने भन्दै सबै दल जिम्मेवार बन्नुपर्ने धारणा राखेका छन्। उनले अहिले एमसीसी अघि बढाईए वा पास÷फेलमा लगिए मुलुकको राजनीति नै खलबलिने र आगामी निर्वाचनसमेत विथोलिने खतरा औंल्याएका छन् । र, कालान्तरमा यसले संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्ने हो कि भन्ने उनको चिन्ता छ।
दाहालले ओलीसँगको फोनवार्तामा पनि एमसीसी सामान्य आर्थिक सहयोगको परियोजनामात्र नभएर अब यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसकेको धारणा राखेका छन् ।
ओलीसँगको दाहालको फोनवार्ताबारे दाहालको सचिवायले भनेको छ–